मेस्सी भित्राउन सिटीले पुनः प्रयास गर्ने !

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन ।

मेस्सीले पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी पछि हटेका थिए । व्यावसायिक खेल जीवनको सुरुवात गर्दै थुप्रै सफलता प्राप्त गरेको क्लबसँग थप विवाद नगर्ने भन्दै मेस्सीले तत्कालका लागि बार्सिलोना नछाड्ने निर्णय गरेका थिए ।

सन् २०२१ को जुनमा बार्सिलोनासँगको मेस्सीको सम्झौता सकिँदैछ । त्यसअर्थ जनवरीको सरुवा बजारमा मेस्सीले नयाँ क्लबमा जाने विषयमा छलफल गर्न पाउनेछन् । मेस्सी सिटी गएको खण्डमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग फेरि एकपटक उनको सहकार्य हुनेछ । सिटीले जनवरीका लागि सम्झौताको प्रस्ताव गर्ने तयारी गरिरहेको बताइएको छ । यदि सम्झौता भएको खण्डमा ६ पटकका बालोन डी’ओर विजेता मेस्सीले यसै सिजन प्रिमियर लिग खेल्नेछन् ।

बार्सिलोनाका तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टोमेउले पदबाट राजीनामा दिइसकेकोले अब मेस्सीले क्लब छाड्दैनन् भन्ने समर्थकहरुको विश्वास रहेको अनुमान गरिएको छ । बार्सिलोनामा क्रिसमको आसपासमा नयाँ अध्यक्ष निर्वाचित हुने अपेक्षा गरिएको छ ।

सिटीको बुझाईमा बार्सिलोना र मेस्सीबीच सम्झौता नविकरणको सम्भावना कम छ । कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिले अन्य क्लबले जस्तै बार्सिलोनाले पनि आर्थिक समस्या खेपिरहेको छ । परिस्थिति जे भएपनि सिटी भने फेरि एक पटक मेस्सीका लागि प्रस्ताव अघि सार्ने योजनामा छ ।

‘मेस्सी अन्यन्तै प्रभावशाली खेलाडी हुन् । जसले क्लबमा र मैदानमा प्रभाव पर्ने क्षमता राख्छन्’, सिटीका आर्थिक मामलाका निर्देशक ओमार बेराडाले भनेका छन्, ‘उनी विश्वका उत्कृष्ट खेलाडी हुन् । मलाई लाग्छ कुनै पनि क्लब त्यस्ता क्षमतावान खेलाडीलाई आफ्नो क्लबमा समावेश गर्न प्रयास गर्नेछ । त्यसअर्थ हामी उनीलाई भित्राउन प्रयास गर्नेछौं ।’

सम्झौता भएको खण्डमा सिटीका प्रशिक्षक ग्वार्डिओला र मेस्सीबीच दोस्रो पटक सहकार्य हुनेछ । मेस्सी र ग्वार्डिओलाले २०१० को दशकमा बार्सिलोनामा थुप्रै सफलता हासिल गरेका थिए ।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७०८:१३

“म्यानचेस्टर सिटीलाई मेस्सी चाहिएको छैन, मेस्सी आए समस्या पैदा हुन्छ”