“म्यानचेस्टर सिटीलाई मेस्सी चाहिएको छैन, मेस्सी आए समस्या पैदा हुन्छ”

एजेन्सी – क्लब छाड्ने प्रयास असफल भएपछि बार्सिलोनामै थन्किएका सुपरस्टार फुटबलर लियोनेल मेस्सीको भविष्य लगातार चर्चाको विषय बनिरहेको छ। मेस्सीले क्लब छाड्ने लगभग पक्का जस्तै छ। जसकारण पनि उनको भविष्य बारे अलि बढी नै चर्चा भएको हो।

मेस्सी म्यानचेस्टर सिटी जाने धेरैले आकलन गरेका छन्। यस अगाडी बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी म्यानचेस्टर सिटी जानबाट रोकिएका थिए। तर पछिल्लो चर्चा अनुसार उनी मेस्सी जनवरीमै सिटी जान सक्छन्। मेस्सी सिटी गएको खण्डमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग मेस्सीको सहकार्य देख्न पाइनेछ।

मेस्सी बार्सिलोना छाडेर म्यानचेस्टर सिटी जानु कतिको अर्थपूर्ण हुन्छ र सफल हुन्छ भन्ने विषयमा पछिल्लो केहि समय देखि चर्चा पनि चलिरहेको छ। यस विषयमा फुटबलका जानकारीहरुको मिश्रित प्रतिक्रिया छ। केहि मेस्सी बार्सिलोनामै रहनुपर्ने मत राख्छन् भने केहि मेस्सीले सिटी गएर आफैंलाई चुनौती दिनुपर्ने बताउँछन्।

यसै बीच म्यानचेस्टर सिटीकै एक खेलाडी भने मेस्सी म्यानचेस्टर सिटी नगएको राम्रो हुने बताउँछन्। म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर एमेल एम्पेन्जाका अनुसार सिटीलाई मेस्सी चाहिएकै छैन। मेस्सीलाई सिटीमा ल्याउनुको खासै अर्थ नहुने उनको भनाई छ।

एक मिडियासंग कुराकानी गर्दै उनले वर्तमान अवस्थामा ग्वार्डिओलालाई मेस्सीको आवश्यकता नरहेको तर्क गरे। ग्वार्डिओला र मेस्सी बीच भविष्यमा कुनै एक क्लबमा भेट हुने भएपनि वर्तमान अवस्थामा सिटीलाई मेस्सीको आवश्यकता नरहेको उनको जिकिर छ।

“मलाई लाग्दैनकि सिटिलाई थप स्ट्राइकर चाहिएको छ।”,उनले भने,”कोम्पानी क्लबबाट सन्यास लिएपछि क्लबलाई एक भरपर्दो डिफेन्सको आवश्यकता छ।”

ग्वार्डिओला स्ट्राइकर थप्ने भन्दा पनि डिफेन्डर थपेर क्लबलाई बलियो बनाउन तर्फ लाग्नुपर्ने उनको सुझाव छ। उनले भने,”ग्वार्डिओलालाई मेस्सी चाहिएको छैन। एक भरपर्दो डिफेन्डर चाहिएको छ।” मेस्सीको ठाउँमा पहिला देखि नै अब्बल खेलाडी रहेका कारण मेस्सीको आगमनले समस्या समेत पैदा हुन सक्ने उनको अनुमान छ।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७१५:५५

आल्भेजको डेस्टलाई सल्लाह – ‘सकेसम्म मेस्सीलाई बल दिनु, बाँकि काम मेस्सीले गर्छन्’