एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउने ट्रान्सफर विन्डोहरुमा भविष्यलाई मध्यनजर गर्दै खेलाडीहरु भित्र्याउने भएको छ। गत ट्रान्सफर विन्डोमा खर्च नै नगरेको म्याड्रिडले भविष्यलाई मध्यनजर गर्दै खेलाडीहरु भित्र्याउने योजना बनाएको हो।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार आउने ट्रान्सफर विन्डोमा खुलेर खर्च गर्नैको लागि रियलले गत सिजनमा खर्च नगरेको थियो। आउने ट्रान्सफर विन्डोमा रियलले पछिल्लो समय चम्किएका युवा खेलाडीहरु भित्र्याउने प्रयास गर्ने बताइन्छ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टस गएयता रियलले उनको ठाउँ लिन सकने खेलाडी भेटेको छैन। साथै क्लबमा रहेका धेरै खेलाडीहरुको उमेर ढल्कंदै गएका कारण पनि रियलले आउने सिजन युवा खेलाडीहरु माथि खर्च गर्ने योजना बनाएको हो।
रियलको सबै भन्दा बढी प्राथमिकतामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पे छन्। पछिल्लो समय युरोपका धेरै जस्तो क्लबका प्राथमिकतामा रहेका एमबाप्पेलाई रियलले प्राथमिकतामा राखेको हो। एमबाप्पे र रियल बीच सम्झौता हुन सके त्यसले रेकर्ड नै बनाउने अनुमान गरिएको छ।
एमबाप्पेलाई भित्र्याउन रियलले राम्रै धनराशी खर्च गर्नुपर्ने देखिन्छ। अहिले सबै भन्दा बढी चर्चामा रहेका एमबाप्पे मात्र नभई फ्रान्सकै इडुवार्डो कामाभिन्गालाई पनि रियलले प्राथमिकतामा राखेको छ। आउने ट्रान्सफर विन्डोमा यी दुई खेलाडी माथि रियलले पैसाल लगाउने फुटबल जानकारहरुको अनुमान छ।
यस्तै रियलले नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ। सन् २०२२ सन् हालान्डलाई क्लबमा भित्र्याउने रियलले योजना बनाएको बताईन्छ।