‘शासक नसुध्रिए जनताले तह लगाउँछन्’

यही नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनको परिणामअनुसार डेमेक्र्याट्स उम्मेदवार जोसेफ रोबिनेट्टे बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपतिसमेत रहेका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् । बाइडेन सन् २००९ देखि २०१७ सम्म तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । बाइडेनसँग पराजित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा दुई कार्यकाल राष्ट्रपति हुन नपाउने १०औं राजनीतिकर्मी बनेका छन् । सन् १९९० यता दुई कार्यकाल राष्ट्रपति बन्न नपाउने उनी नै पहिलो हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

अमेरिकामा सन् २०१६ को निर्वाचनसँगै उदाएका ट्रम्प सन्की स्वभावका छन् । अमेरिकी जनताले ४५औं राष्ट्रपतिका रूपमा निर्वाचित गरेपछि पनि उनको स्वभावमा कुनै परिवर्तन आएन, बरु सन्कीपन बढ्दै गयो । यो वर्षको सुरुदेखि फैलिएको महामारी कोभिड–१९ ले त्राहिमाम बनाइरहेका बेला सारा विश्वले आशा गरिरहेका राष्ट्रपति ट्रम्प भने भाइरससँग लड्न उपयुक्त रणनीति बनाउनतिर नलागेर ‘चिनियाँ भाइरस’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन व्यस्त रहे । जसको परिणामस्वरूप झन्डै अढाइ लाख अमेरिकी नागरिकले कोभिड–१९ का कारण ज्यान गुमाए भने झन्डै एक करोड संक्रमित भए । यो संख्या अझै बढ्दो क्रममा छ । ट्रम्प आफैं पनि यो रोगबाट संक्रमित हुन पुगे ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पेरिस सम्झौतालगायत जलवायु परिवर्तनको प्रभाव कम गर्न भएका महत्वपूर्ण सम्झौताबाट हात झिके । उनले विश्वशक्तिका रूपमा अमेरिकाले गर्न सक्ने धेरै महत्वपूर्ण काम गरेनन् नै, बरु कयौँ अनपेक्षित निर्णय गर्दै गए । जसको परिणाम शक्तिराष्ट्रका रूपमा लामो समयदेखि विश्वलाई नेतृत्व गर्दै आएको अमेरिकी नेतृत्वमाथि विश्वासको संकट देखाप-यो । शासकका रूपमा ट्रम्पले सुध्रने संकेत नगरेपछि हालै सम्पन्न निर्वाचनमार्फत अमेरिकी जनताले नै आफ्नो निर्णयमा पुनर्विचार गरेका हुन् । अमेरिकी जनताले अघिल्लो निर्वाचनमा आफैंले गरेको गल्ती सच्याउँदै ट्रम्पलाई दोस्रो कार्यकालका लागि अस्वीकृत गरिदिएका छन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेपालसहित विश्वभर त्यसको प्रभाव देखिएको छ । अमेरिकी निर्वाचनमा ट्रम्पको हार र बाइडेनको जितलाई लिएर सामाजिक सञ्जालमार्फत नेपालीले पनि आफ्ना शासकलाई खबरदारी गरिरहेका छन् । तर अमेरिकी निर्वाचनले शासकलाई भन्दा पनि जनतालाई महत्वपूर्ण सन्देश दिएको छ ।

ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गरेर आफूहरूले गल्ती गरेको भन्दै अमेरिकी जनताले महसुस गरे, सुध्रने कुनै संकेत नगरेपछि उनीहरूले जवाफ पनि दिए । अर्थात् शासक नसुध्रिएपछि यो निर्वाचनमा अमेरिकी जनता आफैं सच्चिएका हुन् । नेपालको हकमा पनि जनताको खबरदारीले मात्र शासक सुध्रदैनन् भन्ने उदाहरण शासकहरूको व्यवहारले देखाइरहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७०८:३२

तिहारको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्यो, उपभोक्ता मारमा !