माधव नेपाललाई फकाउन लगातार भेट्दै ओली !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विचारधारामा समान धारणा राख्दै आएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहकार्यलाई पुनः निरन्तरता दिन प्रयासरत छन् । नेकपाभित्र विवाद चर्किरहँदा यी दुई पक्ष २३ कात्तिकसम्म आइपुग्दा तीनपटक भेटघाट गरिसकेका छन् । ‘जनताको बहुदलीय जनवाद’ विचारधारालाई दुवैले पक्षपोषण गर्दै आइरहेका हुन् । तत्कालीन नेकपा एमाले हुँदा यो विचारधारा रहेको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

तर, नेकपा माओवादीसँग एकता गर्दा महाधिवेशनबाट विचारधारा तय गर्ने भन्दै २१औँ शताब्दीको जनवाद प्रयोग गरियो । यो विचारधारा पार्टीमा अहिले विवादमा देखिएको छ, यद्यपि, नेताहरू यसलाई महाधिवेशनबाटै निरुपण गर्ने बताइरहेका छन् । प्रधानमन्त्री ओली पछिल्लोपटक अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बढी नै क्रुद्ध रहेको उनका पछिल्ला अन्तर्वार्ताले समेत देखाइसकेको छ । आफूसँग एक सहमति गर्ने र अर्को पक्षमा पुगेपछि आफ्नो सहमतिविना नै गरेको भन्दै विवाद झिक्ने प्रयास गरेको भन्दै उनी रुष्ट बनेका हुन् ।

विचारधारामा एकरूपता देख्न थालेपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय नेता नेपालसँग सहकार्यको प्रस्ताव गर्न थालेका छन् । राजनीतिमा धेरै क्रियाशील नरहेका नेता प्रदीप नेपालमार्फत ओलीले नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए । प्रदीप नेपालले पनि दुई पक्षबीच खासै ठूलो विवाद नदेखिएको र जबजमा समेत एकमत रहेको प्रतिक्रिया दिइसकेका छन् । प्रदीप नेपालसँग ओली पक्षका नेता र वरिष्ठ नेता नेपालसमेत भेटवार्ता गरिसकेका छन् । नेपालले ओलीले ‘जे पनि हुन्छ भन्ने तर काम नगर्ने’ भएकाले आफू लिखित सहमति भए मात्रै सहकार्य गर्नसक्ने संकेत प्रदीप नेपालसँग गरेका थिए ।

यही सेरोफेरोमा ओली र नेता नेपालबीच कात्तिक ४, ११ र आइतबार भेटवार्ता गरेका हुन् । भेटवार्ताको विस्तृत जानकारी नेताहरूले नगराए पनि ओलीले पार्टी विभाजनतर्फ गएको भन्दै चिन्ता व्यक्त गरेको नेताहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टासम्म भएको वार्तामा नेता नेपालसँगै स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

स्थायी कमिटी सदस्य पाण्डेकाअनुसार प्रधानमन्त्री ओलीले सुरुमै पार्टी फुटको डिलमा छ भन्दै जटिलताबारे लामो व्याख्या गरेका थिए । ‘पार्टी फुटको संघारमा छ । तपाईं हामी सबै मिलेर एकतालाई बचाउनुप¥यो’, ओलीले छलफलमा भनेका थिए । जवाफमा नेता नेपालले प्रधानमन्त्री र पार्टीको अध्यक्ष पनि भएकाले अहिलेको पार्टीलाई फुटबाट जोगाउने भूमिका ओलीकै भएको बताएका थिए । ‘कसले कसलाई कहाँ के भन्यो, के आरोप लगायो भनेर प्रधानमन्त्रीले लम्बेतान कुरा गर्नुभयो’, पाण्डेले भने, ‘जवाफमा नेता नेपालले यी सबै तपसिलका कुरा हुन् । यिनले संकट समाधान गर्दैनन् । समाधान गर्ने हो भने ठोस प्रस्ताव के छ ? समाधानको खाका के छ ? त्यो ल्याउनुहोस् न भनेर भन्नुभयो ।’

लामो छलफलपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि ठट्यौली पारामा सुनाएका थिए । उनले पार्टीमा आफू अझै सक्रिय रहने संकेत गर्दै मिलेर अगाडि बढ्न अनौपचारिक आग्रह गरेका थिए । यद्यपि ओलीले छलफलमा सहकार्य कुनै औपचारिक प्रस्ताव वा मुख नै खोलेर भने नभनेको नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७१०:०३

दीपिकाले शाहरुखसँग काम गर्न लिइन् कसैले नसोचेको रकम !