रेकर्ड तर्फ अगाडी बढ्दै सुनको मूल्य, आज ६९ दिन यताकै महँगो !

काठमाडौँ – सुनको भाउ फेरी उकालो लाग्न थालेको छ। असोज महिनामा केहि सस्तो भएको सुनको मूल्य लगातार उकालो लागेको हो। सोमबार सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ५ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार २ सय पुगेको छ। यस्तै सोमबार तेजाबी सुनको मूल्यमा पनि ५ सयले बढेको छ भने मूल्य प्रतितोला रु ९७ हजार ७ सय कायम भएको छ।

सोमबार कायम भएको सुनको मूल्य कार्तिक महिनाकै मात्र नभई ६९ दिन यताकै महँगो हो। भदौ १६ गते यता सुनको मूल्य सोमबार जति महँगो कहिले पनि भएको थिएन।

कोरोना भाइरस महामारी पश्चात सुनको मूल्य पहिला भन्दा धेरै महँगो भएको छ। गत साउनमा रेकर्ड कायम गर्दै सुनको मूल्यले १ लाख समेत नाघेको थियो। त्यसबखत सुनको मूल्य १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार २ सय ८५ मा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७११:३२

चोरीका मोटरसाइकल र चोरी गर्न प्रयोग गरिने औजार सहित सात पक्राउ !