काठमाडौँ – नेपालका दुई राजनीतिक दलका अध्यक्ष बीच सामाजिक संजालमा यति बेला आरोप-प्रत्यारोप चलेको छ। राप्रपाका अध्यक्ष कमल थापा र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलेको हो।
लोकतन्त्रकै मान्यताको परिधिभित्र रहने संवैधानिक राजसंस्था कायम गर्न सकिन्छ भन्दै राप्रपाका अध्यक्ष कमल थापाले नयाँ पत्रिका दैनिकमा लेखेको आलेख माथि टिप्पणी गर्दै भट्टराईले गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनिएको प्रति आपत्ति जनाएका छन्।
आलेखमा थापाले प्रचण्ड-बाबुरामले विदेशी शक्तिको आडमा क्रान्ति चलाएको र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता नेपाली जनताले नचलेको दावी गरेसँगै भट्टराईले ट्वीट गर्दै ग्वेबल्सको दुष्प्रचार-सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’लाई थापाले अनुशरण गरेको आरोप लगाएका हुन्।
क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउँदो रहेसम्म झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र? भन्ने बाबुरामको प्रश्न छ।
” मेरा सहपाठी मित्र@KTnepal ले ग्वेबल्सको दुष्प्रचार-सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुन: गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?”,भट्टराईले ट्वीट मार्फत भनेका छन्।
बाबुरामको उक्त ट्वीट पश्चात अध्यक्ष थापाले नेपालका क्रान्तिको शुरुवात प्रचण्ड-बाबुरामले गरेको भएपनि त्यसको मालिक विदेशी शक्ति रहेको स्पष्ट भइरहेको बताएका छन्।
“फेरी हसाउनु भयो सहपाठी मित्र@brb1954 ले।कति हास्नु हौ! क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश”,थापाको बाबुरामलाई उत्तर छ।

