नेकपा विवाद कायमै : दुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद थप तनावपूर्ण बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण विगत ६ महिना अघिबाट शुरु भएको विवाद थप उत्कर्षमा पुगेको हो । सचिवालयको बैठक नबोलाउने पार्टी अध्यक्ष ओलीको अडान र सचिवालय बैठक बोलाउनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताको माग नै नेकपाभित्र प्रतिष्ठाको विषय बन्न पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

पार्टीको विधानअनुसार बैठक बोलाउन दुई अध्यक्षबीच सहमति भएपछि महासचिवले बैठक बोलाउने गर्छन् । तर अध्यक्षद्वयबीच नै आ–आफ्नो अडान कायम रहेपछि सहमति जुट्न सकेको छैन । सचिवालयको बैठक बोलाउन प्रचण्डले आग्रह गर्दा पनि ओलीले अस्वीकार गरेपछि सचिवालयको बहुमत सदस्यले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका हुन् ।

पार्टी एकता भएपछि सचिवालय बैठक बोलाउन लिखित माग गरेको सम्भवतः पहिलो घटना हो । प्रधानमन्त्री ओलीले पार्टी स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रुष्ट बन्दै आएको छ । तर प्रधानमन्त्री ओलीले भने पार्टीले सरकारको काममा अनावश्यक हस्तक्षेप गरेर काम नै गर्न नदिएको आरोप लगाउँदै आउनुभएको छ । दुवै पक्षबीच एक अर्कालाई आरोप प्रत्यारोप लगाउने शृंखला चलिरहेको छ । विवाद समाधानका लागि भन्दा पनि ओलीपक्ष र प्रचण्ड–नेपाल पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुुटेका छन् ।

अध्यक्ष ओली आफ्नो अनकूलतामा मात्र सचिवालय बैठक बोलाउनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्डले आजका लागि सचिवालयको बैठक आह्वान गर्नुभएको छ । नौ सदस्यीय सचिवालयमा प्रचण्ड नेपाल पक्षको बहुमत रहेको छ । प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने अडानमा रहेका छन् । बहुमत सदस्यको निर्णय अध्यक्ष ओलीले मान्नुपर्नेमा पाँच नेताले जोड दिँदै आएका छन् ।

अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा अध्यक्षद्वयबीच सहमति भएपछि मात्र बैठकको मिति तोक्नुपर्ने अडानमा रहेका छन् । बुधबार पनि सहमति जुटाउन यसअघि गठित कार्यदलमा रहेका सदस्यहरु र दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

पाँच नेताले बुझाएको लिखितपत्रमाथि ओलीले तोक लगाउँदै बैठक बोलाउने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिनुभएको थियो । तर मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भए पनि बैठक बोलाउने विषयमा भने सहमति जुट्न सकेन । ओलीसँग कुरा नमिलेपछि प्रचण्डले मंगलबार नै सचिवालयका पाँच जना नेतासँग अनौपचारिक बैठक गर्नुभएको थियो । बैठक बोलाउनुपर्ने लिखित मागको समेत ओलीले बेवास्ता गरेपछि प्रचण्ड भने सचिवालयको औपचारिक बैठक बोलाएर अगाडि बढ्ने गृहकार्यमा जुटेको बताइएको छ ।

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७०९:३१

मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द !