एजेन्सी – अर्जेन्टिनी स्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने भन्दै चलेको हल्लालाई मेस्सीका पिता एंव एजेन्ट जोर्गे मेस्सीले खारेज गरेका छन्।
विभिन्न संचार माध्यममा मेस्सी पिएसजी जान सक्ने भन्दै आएको रिपोर्टलाई मेस्सीका पिता एंव एजेन्ट जोर्गे मेस्सीले सामाजिक संजाल इन्स्टाग्राम मार्फत खारेज गरेका हुन्।
मेस्सी पिएसजी जान लागेको समाचारको स्क्रिनसट समेत राखेर जोर्गे मेस्सीले इन्स्टाग्राम मार्फत उक्त समाचारलाई ‘फेक न्युज’ भनेका छन्। साथै उनले अनावश्यक हल्ला नगर्न पनि आग्रह गरेका छन्।
केहि समय अगाडी मेस्सीले बार्सिलोना छाडेर म्यानचेस्टर सिटि जाने प्रयास गरेका थिए। तर, बार्सिलोनाले रिलिज क्लज ७ सय मिलियन युरो मागेपछि उनको ट्रान्सफर सम्भव हुन सकेको थिएन।
बार्सिलोनासंग मेस्सीको सम्झौता सन् २०२१ जुन सम्म भएपनि मेस्सीले ट्रान्सफरको प्रक्रिया जनवरी देखि नै शुरु गर्ने अनुमान गरिएको छ। जस कारण उनको नाम विभिन्न क्लबसँग जोड्न थालिएको छ।
मेस्सी म्यानचेस्टर सिटि जान सक्ने उच्च सम्भावना रहेको बताइन्छ। यधपी उनी पिएसजी जान सक्ने हल्ला पनि चल्ने गरेको छ। केहि खेल टेलिभिजनहरुले पिएसजी र मेस्सी पक्ष बीच ट्रान्सफरलाई लिएर अहिले नै आपसी समझदारी भइसकेको भनेर दावी गरिरहेका छन्।