काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय शिर्ष ९ नेता सम्मिलित ‘चेन अफ कमाण्ड’ हो । पार्टीमा कुनै समस्या देखिए सचिवालयले समाधान गर्ने गर्दछ । सचिवालयमा निर्णय भएपछि नेता कार्यकताले के गर्न हुन्छ के गर्न हुदैन भनेर अन्तरपार्टी निर्देशिका जारी गर्ने गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
स्थायी कमिटीको बैठकपछि पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यस्तो निर्देशिका जारी गरेका छन् । तर, सो निर्देशिका सचिवालयकै नेताहरुले नपढेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारसँग खुलासा गरे । करिव ४० मिनेटमै सकिएको बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्ष प्रचण्डले पठाएको पत्र र प्रधानमन्त्रीले पठाएको पत्रका बारेमा सामान्य छलफल भएपछि सचिवालय सदस्यले अन्तरपार्टी निर्देशिका अध्ययन गर्ने भएका छौँ । सो अध्ययन गरेपछि मंसिर ३ गते पुनः बैठक बस्नेछौँ ।’
सो निर्देशिकामा पार्टी हित विपरित काम गर्न नहुने, सामाजिक सञ्जालबाट नेतृत्वको विरोध गर्न नपाइने, कुनै विषयमा चित्त नबुझे पार्टीका सम्वन्धित निकाय वा बैठकमा विधि सम्मत रुपमा राख्नुपर्ने उल्लेख छन् । तर, यस्ता विषय कार्यकर्तालाई मात्र लागु हुने कुरा प्रवक्ता श्रेष्ठको भनाईबाट खुल्छ । शुक्रबारको सचिवालय बैठकमा ओलीको आलोचना गर्दै आएका पाँच नेता मौन बसेका थिए ।
बैठक बोलाउन माग गर्दै बुझाएको पत्रको जवाफ प्रधानमन्त्री समेत रहेका ओलीले पठाएपछि त्यसको पनि जवाफ दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गरेका थिए । दाहालको पत्र बुझेपछि ओलीले अब बैठकबाटै समस्याको समाधान गरौं भनेर जवाफ दिएका थिए । त्यसपछि बैठक तिहार लगत्तै अर्थात मंसिर ३ गते फेरी बस्ने गरी नेताहरु उठेर हिडेका थिए ।
बैठकमा पार्टीमा उत्पन्न विवाद, समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । उक्त कार्यसूची अन्तर्गत यसअघि स्थायी कमिटीको निर्णय कार्यन्वायनको विषय, कर्णाली प्रदेशको विवाद, पर्सा लगायतका स्थानमा पार्टी कार्यकर्ताबीच भएको दोहोरो झडप, कोभिड–१९ र त्यसले उत्पन्न गरेको आर्थिक संकट, पार्टी र सरकारका बीच उत्पन्न विवाद र भारतीय गुप्तचरका प्रमुखको नेपाल भ्रमणको विषयमा छलफल हुने श्रेष्ठले बताए ।
अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई लेखेको पत्र र उक्त पत्रको जवाफमा दाहालले ओलीलाई लेखेको पत्र तथा पार्टीको संकट र निवारणको विषयमा सचिवालयमा छलफलका लागि अध्यक्ष दाहालले तयार गरको प्रस्ताव, स्थायी कमिटीको बैठक पछाडी जारी गरिएको अन्तरपार्टी निर्देशिका सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ ।