धनगढी । दार्चुलाको गन्नाबाट मध्यान्ह ना५ख ५१४१ नम्बरको बस महेन्द्रनगरका लागि छुटेको थियो । बैतडीको पाटनमा केही बर रोकिएपछि पाटन नगरपालिका–८ खोड्पेको उकालो चढ्न थाल्यो । रातिको करिव १० बजेको थियो । सो समयमा बसमा कोही निदाउन खोज्दै थिए त कोही निदाएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
एक्कासी बस सडक छाडेर भिरबाट तल खस्यो । बस तीन/चार पटक भिरमै फनफनी घुम्दै पल्टेर तल आयो । बसभित्र शान्त रहेको माहौल एकाएक कोलाहलमा परिणत भयो । दुर्घटनामा ९ जनाको ज्यान गयो भने ३४ जना घाइते भए । घाइते मध्ये १२ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा रहेका २० वर्षिय पुरन टमाटाले प्रहरीलाई खवर गरेका थिए ।
केही बेरमै बैतडी पुलिस घटनास्थल आइपुग्यो । त्यति बेलासम्म टमाटा सडकमा उक्लिसकेका थिए । ‘मजाले सुतिरहेको मैलै बस खसेपछि मात्रै थाहा पाएको थिएँ’ उनले भने, ‘म उठ्दा बस मभन्दा अलि तल थियो म भुइँमा लडेको थिएँ ।’ त्यसपछि उनले नै प्रहरीलाई सर्वप्रथम दुर्घटनाका बारेमा जानकारी गराएका थिए । उनी भन्छन्, ‘झ्यालबाट निस्केको मेरो छेउमै झोला थियो, त्यसमै भएको मोबाइलबाट बैतडी प्रहरीलाई जानकारी गराएर म रोडतिर उक्लिए । बीच बाटोमै माथिबाट आएका स्थानीयलाई भेटेँ र म सडकमा पुगेँ ।’
बैतडीको दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवर ऐरी पनि सवार थिइन् । उनका श्रीमान् करनसिंह ऐरी र डेढ वर्षीय छोरा पनि सँगै थिए । भाइटीका मनाउन कञ्चनपुरको बेलौरीमा रहेको माइतीघरमा आउँदै गरेका उनिहरु भाइटीका मनाएर काठमाडौ छिर्ने योजना बुनिरहेका थिए । ‘छोराले दूध चुसिरहँदा नै कतिखेर निदाएछु पत्तै भएन’, उनले भनिन्, ‘होस खुल्दा बसको झ्यालबाट खस्दै गरेको पाएँ । त्यसपछि म भिरालो जमिनमा अड्किए छु । डेढ वर्षीय छोरा नजिकै रोइरहेको थियो । तर बस कतिखेर खस्यो थाहा नै भएन ।’
दुर्घटनामा घाइते भएपछि डेढ वर्षीय छोरासँगै विमलालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइयो । डडेल्धुरा अस्पतालले रेफर गरेपछि अहिले उनको र उनका छोराको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको शय्याबाट उनले श्रीमान् करनसिंहलाई खोजिरहेकी छिन् । श्रीमान करनसिंहको घटनास्थलमै मृ’त्यु भईसकेको जानकारी विमलालाई कसैले पनि दिन सकेका छ्रैनन् । आफन्तले डडेल्धुरामा उपचार भइरहेको छ भन्दै विमलालाई शान्त पारिरहेका छन् ।
बसका चालक थिए, बैतडीका वीरेन्द्र कार्की । सात वर्षदेखि बस चलाउँदै आएका कार्कीले बैतडीको खोड्पेमा खाना खुवाउने गरी गाडी हाँकिरहेका थिए । ‘रातिको सवा १० बजेको थियो भने खोड्पे पुग्न आधा किलोमिटर मात्रै बाँकी थियो । घुम्ती र सडकमा खाल्डाखुल्डी थिए’, चालक कार्कीले भने, ‘घुम्तीमा गाडी मोड्न खोज्दा झ्याप्प स्टार्ट बन्द भयो । स्टेरिङ पनि लक भयो । त्यसपछि जोगाउनै सकिएन ।’ धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत कार्कीले खाल्डाखुल्डीसहितको सडक नै दुर्घटनाको मुख्य कारण भएको बताए । ‘उकालोमा दायाँ भिरको मोडबाट गाडीलाई बायाँतिर मोड्न सकिएन’, उनले भने, ‘गाडी पल्टिन पुग्यो ।’
बसमा सवार रहेका अछामका अमृत कुमालका अनुसार बस थोत्रो थियो । ‘६ जना बस्न मिल्ने पछाडि सिटमा हामी तीन जना मात्रै थियौँ । बस पाटन बजारबाट माथि चढ्दा बिस्तारै गुडिरहेको थियो । बस बीच–बीचमा रोक्किरहेको थियो’, उनी भन्छन्, ‘गाडीमा केही न केही समस्या छ भनेर उत्रिन खोजेको चाहिँ हुँ तर बिस्तारै लगिहाल्छ होला भन्ने लागेको थियो ।’ उनले दुर्घटना अघि पनि एक पटक बस पल्टिन खोजेको बताए । ‘दुर्घटना हुनुअघि पनि बस झन्डै खसेको थियो तर त्यसको केहीपछि बस पल्टिहाल्यो’, कुमालले भने ।
दुर्घटनामा परि बैतडीको दोगडाकेदार–६ का २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीय कीर्तिका कार्की रहेका छन् । यस्तै दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि दुर्घटनामा ज्यान गएको छ ।