काठमाडौं, अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको उल्लेख गरेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । १६२ जनामा प्रायोगिक औषधी(प्लेसबो) दिइएको थियो । आठ जनामा खोप दिइएको थियो । फाइजर ले भनेको छ, “९५ प्रतिशत प्रभाबकारी देखिएको छ ।”
यसअघि कात्र्तिक अन्तिम साता फाइजर ले जारी गरेको प्रारम्भिक वक्तब्यमा खोपको प्रभाबकारिता ९० प्रतिशत रहेको उल्लेख गरेको थियो । उक्त वक्तब्यले स्वास्थ्यविद् तथा अनुसन्धानकर्मीलाई उत्साहित बनाएको थियो ।
“सबै उमेर समूह, जाति र नश्लमा स्थिर प्रभाबकारी देखिएको छ, ६५ वर्षभन्दा बढी उमेरका ब्यक्तिमा खोपको प्रभावकारिता ९४ प्रतिशत पाइएको छ ।”–फाइजर र खोप निर्माणमा उससँग सहकार्य गरेको जर्मन औषधी निर्माता कम्पनी बायोएनटेकले जारी गरेको संयुक्त वक्तब्यमा उल्लेख गरिएको छ ।
“ट्रायलमा दशजना कोभिड–१९ बाट सङ्क्रमित जटिल प्रकृतिका बिरामीलाई समेत सामेल गराइयो, जसमध्ये नौ जनालाई प्लेसबो समूह अन्तगर्त राखिएको थियो, एक जना बीएनटी१६२बी२ खोप लगाइएको समूह थियो ।” बीएनटी१६२बी२ खोपको प्रयोगशाला नाम हो । उक्त ट्रायलको परिणाम र खराब असरमाथि स्वतन्त्र समूहले समेत निगरानी गरिरहेको छ ।
कम्पनीले भनेको छ, “निगरानी गर्ने समितिले हालसम्म कुनै प्रकारको गम्भिर सुरक्षाका सबाल फेला पारेको छैन् ।”
फाइजर ले अमेरिकी खाद्य तथा औषधी प्रशासन समक्ष आपातकालीन प्रयोगका लागि केही दिनभित्रै अनुमति पाउने विश्वास गरेको छ । केही दिनभित्रै ट्रायलबाट उपलब्ध भएको डाटालाई विश्वस्तरमा नियमन गर्ने निकायलाई उपलब्ध गराइनेछ ।
बायोएनटेकका सह संस्थापक डा. उगुर सहिनले सबै उमेर समूहका प्रभाबकारी देखिएकोले वर्तमान महामारी विरुद्ध लड्न उक्त खोप महत्वपूर्ण औजारको रुपमा सहयोगी सिद्ध हुने प्रतिक्रिया दिनुभयो । उक्त खोपको तेस्रो चरणको ट्रायल जुलाइ २७ मा सुरु भएको थियो । फाइजर ले ४३ हजार ६६१ जना स्वयंसेवीमा खोप लगाइएको जनाएको छ । जसमध्ये ४१ ह्जार १३५ जनाले खोपको दोस्रो डोज समेत लिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले दोस्रो डोज लिएको दुई महिनासम्मको अवधिलाई निगरानी गर्ने समय लिएको छ ।