सिंहदरबारकै कर्मचारी यति सम्म ‘अटेरी’ !

काठमाडौँ, केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताउनुभयो ।

उहाँले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न पाइँदैन भन्नुभयो । सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उहाँ बताउनुुहुन्छ । पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गर्ने गरिन्थ्यो, अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको छ ।

अधिकारीले सचिवको कार्यकक्षमा जाँदा कुनै पनि कर्मचारीले पोसाक नलगाई जान पाइँदैन, मन्त्रालयका सबै महाशाखा प्रमुख र शाखा प्रमुखले पोसाक नलगाई सचिवको कार्यकक्षमा प्रवेश गरे उहाँहरूको कुरा सचिवले सुनुवाइ गर्नुहुन्न भन्नुभयो । सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ ।

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनले कार्यालय समयमा पोसाक नलगाई आउने कर्मचारीलाई कारबाही गरे त्यसको स्वागत गर्ने जनाएको छ । आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले कर्मचारीले पोसाक भत्ता लिएपछि अनिवार्य पोसाक लगाउनुपर्ने बताउनुभयो ।

प्रकाशित : बिहिबार, मङि्सर ०४, २०७७०९:५४

ओली माथि लगाएका आरोप पुष्टि गर्न नसके प्रचण्डले अध्यक्षपद छाड्नुपर्ने !