काठमाडौँ – दशैं तिहार सकिए लगतै सुनको भाउ ओरालो लाग्न थालेको छ। असोज महिनामा केहि सस्तो भएर कार्तिक महिनामा महँगो भएको सुनको मूल्यले मङ्सिर लागेसँगै घट्ने सङ्केत गरेको हो।
बुधबार सुनको मूल्य तोलामा १ सय मात्रै सस्तो भएकोमा बिहिबार तोलामा ७ सयले घटेको छ। बिहिबारको गिरावटसँगै सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ४ सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य घटेसँगै तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला रु ९३ हजार ९ सय कायम भएको छ।
बिहिबार कायम भएको सुनको मूल्य ४२ दिन यताकै कम हो। बिहिबार कायम भएको सुनको मूल्य असोज २२ गते यताकै सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
असोज २२ गते सुन ९३ हजार ९ सयमा कारोबार भएकोमा त्यस यता सुनको मूल्य घटबढ हुँदै आएपनि बिहिबारको विन्दु सम्म झरेको थिएन। कार्तिक महिनामा सुनको मूल्य बढीमा ९८ हजार २ सय सम्म पुगेको थियो भने कममा ९४ हजार ५ सय सम्ममा झरेको थियो।
बिहिबार चाँदीको मूल्य समेत समेत प्रतितोला १५ रुपैंयाँले घटेको छ भएको छ। बुधबार १२ सय ३० मा कारोबार भएको चाँदी बिहिबार १२ सय १५ मा कारोबार भइरहेको छ।