काठमाडौँ – सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टी एकता जोगाउन सकेको योगदान गर्ने बताएका छन्।
नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा मन्त्री भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका हुन्। कार्यकर्ताहरु सामू भट्टराईले सरकार पुनर्गठन गर्दा पार्टी भित्रको विवाद समाधान हुने भए मन्त्री पद छाडेर योगदान दिन आफू तयार रहेको बताए।
“तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला।”,उनले भने।
पार्टी बलियो बनाउन गर्नुपर्ने सबै कार्य गर्न आफू तयार रहेको उनको भनाई छ। जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने पनि त्यसलाई सन्तुलित बनाएर जानुपर्नेमा उनको जोड छ।
उनले भने,”के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।”
मन्त्री भट्टराईल नेकपा भित्रको विवाद तल्लो तहमा नभई माथिल्लो तहमा रहेको पनि स्पष्ट पारेका छन्। माथिल्लो तहमा रहेका नेताहरुले अन्तर्विरोध त्याग्नुपर्ने र तल्लो तहमा रहेका नेताहरुले त्यसको लागि दबाब दिनुपर्ने उनले स्पष्ट पारे।
“लडा’ईको मुख्य केन्द्र टुप्पीतिर छ, माथिल्लो तहमा अन्तर्विरोध छ, हामीलाई डन्डा हान्ने अधिकार छैन भनेपनि तिम्रो लडा’ईमा हामी भाग लिँदैनौ है भन्न सकिन्छ । त्यति भन्दा मात्रै पनि पार्टीभित्रको अन्तर्विरोधमा कमी आउँछ, नेतृत्वले अन्तर्विरोधमा कसैले साथ दिएको छैन भन्ने बुझेपछि सहमति, समझदारीको कुरा शुरु गर्न थाल्दछन्।”,उनले भने।