बार्सिलोनाका पूर्व स्टार मिडफिल्डर इभान राकिटिकले लियोनल मेस्सी नै फुटबल इतिहासका सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन्। मेस्सीसँग एकसाथ खेल्ने आफ्नो सपना रहेको कुरा बताउँदै उनले लियोलाई नम्बर १ भनेका छन्।
अर्जेन्टिनी कप्तानलाई सामान्यतया उनको पुस्ताका सर्वश्रेष्ठ खेलाडीका रूपमा लिइन्छ। उनले बार्सिलोनाको लागि सबैभन्दा धेरै गोलकर्ताका रूपमा आफूलाई स्थापित गर्दै रेकर्ड छ वटा ब्यालोन डी ओर पुरस्कार जितेका छन्। तर राकिटिकका अनुसार उनी आफ्नो पुस्ताका मात्र नभएर पुरानो युगका दिग्गज व्यक्तित्वहरू भन्दा पनि माथि छन्।
उनले मेस्सीलाई एक खेलाडीको रूपमा के सोच्छन भनी सोध्दा ३२ वर्षीय मिडफिल्डरले फिफा.कमलाई भने, “एक सय प्रतिशत फुटबल। तपाईं को हुनुहुन्छ भन्ने कुराले फरक पार्दैन, तपाईंले उसको खेल हेर्नुपर्छ र आनन्द लिनुपर्छ। मेस्सी छुट्टै स्तरका खेलाडी हुन्।” म अन्य सबै खेलाडीलाई निकै सम्मान गर्छु तर फुटबलमा केवल एक मात्र नम्बर १ छ: त्यो लियो हो। मेस्सीसँग ३११ खेल खेल्नु? यो सधै मेरो सपना थियो, उनले भने।
“मैले धेरै आनन्द पाएँ। म यो मात्र भन्न चाहन्छु,’लियो, सबै चीजको लागि धन्यबाद किनभने तिमीसँग खेल्नु भनेको मेरो लागि के हो भनेर सायद तिमीलाई थाहा छैन।’ राकिटिक भन्छन्।
२०१४ मा सेभिलाबाट १८ मिलियन युरोमा बार्सिलोना आएका राकिटिकले क्लबका लागि सबै प्रतियोगितामा ३११ खेल खेल्दै ३५ गोल गरेका थिए भने थप ४२ असिस्ट प्रदान गरेका थिए।