एजेन्सी – म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले बार्सिलोनामै मेस्सीले खेल करियरको अन्त्य गर्नुपर्ने बताएका छन्।
मेस्सी बार्सिलोना छाडेर म्यानचेस्टर सिटि जाने चर्चा चलिरहेका बेला सिटीका म्यानेजर ग्वार्डिओलाले भने मेस्सीले आफ्नो खेल करियर बार्सिलोनामै सिमित राख्नुपर्ने र त्यहिँ सन्यास लिनु पर्ने बताएका हुन्।
ग्वार्डिओलाले बिहिबार मात्रै सिटिसँगको सम्झौता २ वर्ष थप गरेका छन्। मेस्सी म्यानचेस्टर सिटि जाने चर्चा चुलिएका बेला ग्वार्डिओलाको तर्फबाट आएको यस्तो भनाईलाई महत्वका साथ हेरिएको छ।
बार्सिलोनामै हुर्किएका खेलाडी रहेका कारणले मेस्सी बार्सिलोनामै रहुन् भन्ने आफूले चाहेको रहेको उनले सुनाए। बार्सिलोनाको समर्थक भएका हिसाबले पनि उनले मेस्सी बार्सिलोनामै रहुन् भन्ने इच्छा व्यक्त गरे।
“मेस्सी बार्सिलोनाका खेलाडी हुन्। मैले यो कुरा हजार पटक भनिसकेको छु। एक समर्थकको हिसाबले म मेस्सी अन्त्य सम्म बार्सिलोनामै रहुन् भन्ने चाहन्छु।”,ग्वार्डिओलाले भने।
मेस्सीको सम्झौता सकिन लागेको विषयमा समेत बोल्दै मेस्सीले के निर्णय गर्छन् भन्ने कुरा उनको नितान्त व्यक्तिगत कुरा रहेको ग्वार्डिओलाले बताए। मेस्सीको दिमाखमा के चलिरहेको छ र के गर्छन् भन्ने कुरा आफूलाई थाहा नहुने उनको भनाई छ।
“यहि वर्ष(सिजन वर्ष) मेस्सीको सम्झौता सकिँदै छ। उनको दिमाखमा के चलिरहेको छ मलाई थाहा हुने कुरा त भएन ?”,उनले भने।