एजेन्सी – गत वर्ष देखि शुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले अहिले सम्म पनि नियन्त्रणमा आउने छाँट-काँट देखाएको छैन। अहिले सम्म विश्वभर करिब ५ करोड ८० लाख जनामा यस संक्रमण देखा परिसकेको छ। जस मध्ये करिब १३ लाख ७८ हजारले ज्यान गुमाइसकेका छन्।
कोरोना भाइरसबाट सबै भन्दा बढी अमेरिका, भारत र ब्राजिल प्रभावित भएका छन्। विश्वभरका अधिकांश संक्रमित यी तीन मुलुकमा छन्। अमेरिकामा अहिले सम्म १ करोड २२ लाख भन्दा बढी संक्रमित फेला परेका छन्। भारतमा पनि संक्रमित संख्या बढ्ने क्रममा छ। त्यहाँ अहिले सम्म ९० लाख भन्दा बढी संक्रमित फेला परेका छन्।
भारतमा पछिल्लो समय संक्रमित संख्या घटिरहेको भएपनि नियन्त्रणमा भने आएको छैन। भारतीय संचार माध्यमहरुका अनुसार भारतका गाउँ-गाउँमा कोरोना फैलिएको छ।
भारतमा यस्ता गाउँ पनि छ छन्, जहाँ पूरै गाउँ संक्रमित भएको छ। एक समाचारका अनुसार भारतको हिमाचल प्रदेशको एउटा गाउँमा भने संक्रमणको अत्यन्तै अनौठो स्थिति शिर्जना भएको छ। हिमाचल प्रदेशको लाहौल स्पिती जिल्लाको यो गाउँका सबै संक्रमित भएका छन्। तर, एक व्यक्ति भने कोरोनाबाट जोगिन सफल भएका छन्।
लाहौल स्पितीको थारंग गाउँमा कूल ४२ जनामध्ये यी एक व्यक्तिबाहेक बाँकी ४१ जना सबै संक्रमित भएको इण्डियन एक्सप्रेसले जनाएको छ। कोरोनाबाट सुरक्षित रहनेमा ५२ वर्षीय भूषण ठाकुर रहेका छन्।
जिल्लाका चीफ मेडिकल अफिसर डा. पलजोरले सम्भवतः भूषणको रोग प्रतिरोधी शक्ति निकै बलियो भएका कारण यस्तो भएको हुन सक्ने बताउँछन्। गाउँका सबै संक्रमित हुँदा भूषण एक्लै सुरक्षित हुनु आश्चर्यको विषय रहेको उनको भनाई छ।