काठमाडौँ – भुटानले आफ्नो भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पारेको छ। भारतीय संचार माध्यमहरुमा छाएको चीनले भुटानको जमिन कब्जा गरेको भन्ने समाचारलाई भुटानले खारेज गरेको हो।
गत केहि दिन देखि भारतीय संचार माध्यमहरुले चीनले सीमा नाघेर दुई किलोमिटर भित्र पसेर भुटानी भूमिमा बस्ती बसाएको दावी गरिरहेका छन्। भारतीय संचार माध्यमहरुको उक्त दावीलाई चिनियाँ पक्षले यस अगाडी नै गलत भनिसकेको छ।
तर, उक्त किसिमका समाचार आउने क्रम जारी नै रहेपश्चात भुटानी राजदूत वेतसोप नामग्यालले चीनले भुटानको कुनै पनि भूमि नमिचेको स्पष्ट पारेका छन्।
भारत सरकारबाट प्रायोजित संचार माध्यमहरुले लगातार फैलाएको हल्लालाई नामग्यालले झुठो भनेका छन्। भारतीय संचार माध्यमहरुले भुटानको भूमि चीनले मिचेको दावी गर्दै स्याटेलाइट तस्वीरहरु समेत सार्वजनिक गरेका थिए। त्यसलाई नामग्यालले प्राविधिक त्रुटि भनेका छन्।
स्याटेलाइट तस्वीरमा देखिएको गाउँ भुटानतर्फ नरहेको उनले स्पष्ट पारे।