काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्पष्ट दुई कित्तामा बाडिएका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्।
नेकपामा ओली र प्रचण्ड-माधव नेपाल गरी दुई स्पष्ट कित्ता देखिएका बेला उपाध्यक्ष वामदेव गौतमले भने आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता गौतमले आफू सधैं गुटको विपक्षमा रहेको र अहिले पनि आफू कुनै गुटमा नरहेको दावी गरे।
“म कुनै पनि गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु” , पार्टी एकतामा जोड दिँदै उनले भने, ” मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”
पार्टी भित्र देखिएका विवाद तथा समस्यालाई समयमा समाधान नगर्दा अहिले समस्या बढेको उनले बताए। पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाई छ।
उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए।
उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने विश्वास व्यक्त गरे। उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्ने समेत बताए ।