प्रम ओलीद्वारा सुरक्षा प्रमुखसँग छलफल

काठमाडौँ, प्रधानमन्त्री एवं रक्षा मन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक सुरक्षा अवस्था तथा प्रबन्धका विषयमा राज्यका चारवटै सुरक्षा निकायका प्रमुखसँग आइतबार छलफल गर्नुभएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षा निकायका प्रमुखसँगको भेटघाट तथा छलफल नियमित कार्य हो । ‘‘देशको समसामयिक विषय, सुरक्षा प्रबन्धका बारेमा प्रधानमन्त्रीले जानकारी लिनुभएको हो,’’ उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीलाई सुरक्षा प्रमुखले मुलुकको शान्ति सुरक्षाबारे जानकारी गराउनुभयो । छिमेकी मुलुक चीनका रक्षा मन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रमको पूर्वसन्ध्यामा सुरक्षा प्रमुखसँग छलफल गरिए पनि त्यससँग सम्बन्धित नभएको र त्यस विषयमा छलफल गर्न अझै समय रहेको सल्लाहकार थापाको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई सुरक्षा अवस्था तथा प्रबन्धबारे अवगत गराएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले आइतबार नै गृह मन्त्री रामबहादुर थापासँग भेट गरी मुलुकको शान्ति सुरक्षा स्थितिबारे जानकारी गराउनुभएको छ ।

गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार मुलुकको वर्तमान सुरक्षा अवस्था र चुनौतीबारे छलफल भएको हो । गृह मन्त्री थापाले सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी नागरिकको शान्ति सुरक्षामा प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।

यसैबीच काठमाडौँ र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएका छन् । गृह मन्त्रालयका अनुसार काठमाडौँ प्रजिअमा सहसचिव काली पराजुली र भक्तपुर प्रजिअमा प्रेम भट्टराई आउनुभएको छ । काठमाडौँका प्रजिअ जनकराज दाहाल र भक्तपुरका प्रजिअ हुमकला पाण्डे एक वर्ष कार्य अवधि पूरा गरेका कारण गृह मन्त्रालय सरुवा हुनुभएको छ ।

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७०८:१०

तानातानमा गृहमन्त्री रामबहादुर थापा !