काठमाडौँ – आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी गरे। ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन्। तर केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई भेट्न खुमलटार बोलाएका थिए। दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखेका थिए। तर थापाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ। ‘पार्टी उपाध्यक्ष गौतमलाई बालुवाटार र खुमलटार आफ्नो पक्षमा पार्ने विषयमा आश्वस्त हुन नसक्दा खुमलटारले थापाको साथ खोजेको हो,’ स्रोतले भन्यो। नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका थापा कतै पनि खुलेर लागेका छैनन्।
‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष दाहालले उहाँलाई पार्टी दुई लाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ थापानिकट स्रोतले भन्यो, ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने, महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिले चाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो।’ दाहाल र थापाबीच प्रत्येक साता भेटघाट हुने भए पनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भयो।
मंसिर ३ को सचिवालय बैठकमा ओलीले दाहालले राखेको राजनीतिक प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिँदै त्यसको जवाफका लागि समय मागेका थिए। त्यसपछि थापाले ‘प्रधानमन्त्रीलाई जवाफ लेख्न समय दिनुपर्छ’ भनेर एक वाक्य बोलेका थिए। त्यसपछि दाहाल–थापाबीच भेटघाट भएको थिएन। तर आइतबार बिहान खुमलटार बोलाइएपछि दाहाललाई भेट्न थापा गएका थिए। ‘वामदेव गौतमको कुनै भर छैन, कतिबेला के बोल्छन् थाहै छैन,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सचिवालय बैठकमा ओलीको विरोध गर्छन् तर बाहिर गएर म कुनै गुटमा छैन भनेर मलाई गुटबन्दी गरेको भन्ने आरोप लगाउँछन्, त्यसकारण तपाईं खुलेर यता लाग्नुस्।’
यसअघि दाहालले थापासँगको भेटमा उनलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेको तर उनले नमानेको बताएका थिए। तर थापाले दाहालको सो भनाइलाई पत्याएका थिएनन्। ‘आज (आइतबार) को भेटमा पनि दाहालले ईश्वर पोखरेलाई उपप्रधानमन्त्री बनाउँदा तपाईं (थापा) लाई पनि उपप्रधानमन्त्री बनाउनुपर्छ भनेर आफूले ओलीसँग भनेको भन्ने कुरा राख्नुभछ,’ थापानिकट स्रोतले भन्यो। स्रोतका अनुसार आइतबार बिहानको दाहाल–थापा भेटघाट भने एकातिर खुलेर लाग्नुपर्यो भन्ने नै थियो।
भदौ २६ को स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच चरम विवाद बढेका बेला थापाले पार्टी एकताका लागि भन्दै कात्तिक १६ गते चार बुँदे प्रस्ताव अघि सारेर दुवै अध्यक्षलाई भेटेका थिए। पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्यसमेत रहेका थापाले विवाद मिलाउन बालुवाटार र खुमलटार पुगेर आफ्नो चार बुँदे प्रस्ताव राखेका थिए। स्थायी कमिटीको निर्णय अक्षरशः पालना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नुपर्ने, स्थायी कमिटीको निर्णय पालना गर्नेभन्दा उल्लंघन गर्ने परिपाटी रोक्नुपर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षले दायित्व पूरा गर्नुपर्ने तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटीजस्ता बैठकबाट विवाद निरूपण गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि उनले दाहालसँग खासै राम्रोसँग भेटघाट र खुलेर कुराकानी गरेका थिएनन्। तर आइतबार भने उनले खुलेरै दुई अध्यक्ष मिल्नुपर्ने सुझाव दिएका थिए।