काभ्रेपलाञ्चोक – पूर्वमन्त्री तथा नेकपा सांसद गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासनको कुरा मात्र गरेर नहुने बताएका छन्। व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् ।
पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । सुशासनलाई व्यवहारमा पुष्टि गर्न उनको आग्रह छ ।
“भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।”, उनले भने। नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए ।
“हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् ।”,उनले भने । बाँस्कोटाले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अडियो टेप प्रकरण बारे बोल्दै उक्त प्रकरण बारे छानबिनको लागि आफू तयार रहेको र आफू त्यसकै लागि मन्त्री पदबाट राजिनामा दिएको बताए।
“म माथि अभियोग लाग्यो। मैले राजिनामा दिएँ। मैले भनेको छु – दुधको दुध, पानीको पानी छुट्याउनु पर्छ। दोषी हो भने कारवाही गर्नुपर्छ।”,उनले भने,”चाहे प्रधानमन्त्री होस्, चाहे मन्त्री होस्, चाहे सांसद होस् उन्मुक्ति कसैलाई दिन सकिँदैन।” बाँस्कोटाले आफू अदालत, अख्तियार सहित सम्पूर्ण निकायमा जान आफू तयार रहेको पनि स्पष्ट पारे।
“आफ्ना बारेमा कुरा उठ्न थाल्यो भने पुच्छर लुकाएर, मुख छोपेर दौडिने अनि अरुको बारेमा चाहिँ ठूला कुरा गरेर हिड्ने ?”, आक्रोश पोख्दै बाँस्कोटाले भने,”जाउँ अख्तियार, जाउँ अदालत।”