‘राजा आऊ देश बचाऊ’को नारा लाग्न थालेपछि गृहमन्त्री एक्सनमा, दिए कडा निर्देशन !

काठमाडौं – विप्लव समूह र पूर्वराजावादीहरुको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्न शुरु गरेको छ । अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै प्रतिबन्धित समूहको चलखेल बढेको निष्कर्ष निकाल्दै सुरक्षा निकायले ती समूहको गतिविधिमाथि निगरानी राख्न शुरु गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर उनीहरुले गर्न सक्ने अराजक गतिविधिको बारेमा निगरानी र नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दीका कारण पार्टी विभाजनको तहमा पुगेको र दलप्रति जनताको धारणा नकारात्मक बन्दै गएका कारण पूर्वराजावादीहरुले राजधानीलगायत देशभर मंसिर १५ गतेबाट मौन जुलुस निकाल्ने घोषणा गरेपछि सरकार सशंकित भएको छ ।

पूर्वमाओवादीबाट विभाजन भएर भूमिगत भएको विप्लव समूहले समेत आफ्नो गतिविधिलाई अहिले नै तीव्रता दिएपछि गृहमन्त्री थापाले त्यस्ता समूहको गतिविधिमाथि निगरानी राख्न र उनीहरुले उद्देश्यलाई निस्तेज पार्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

गोप्यरुपमा पटकपटक बसेको बैठकले कार्ययोजनासमेत बनाएर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको ती उच्च अधिकारीले दाबी गरेका छन् ।

तराईका जिल्लाहरुमा यसअघि नै ‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित जुलुस प्रदर्शन भइसकेको र मंसिर १५ गतेबाट संगठितरुपमा नै पूर्वराजावादीले आन्दोलन गर्ने घोषणा गरेपछि सरकार थप सशंकित भएर त्यस्ता क्रियाकलाप नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।

सरकारले देशभर विप्लवको पछिल्लो गतिविधि र राजावादीहरुको गतिविधिका बारेमा समेत अवस्थाको मूल्यांकन गरी गृह मन्त्रालयलाई जानकारी गराउनसमेत गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

पछिल्लो समय विप्लव समूहले सैन्य दस्तासमेत तयार पारेको सूचना पाएको सरकारले उनीहरुको अराजक गतिविधि रोक्न आग्रह गर्नुभएको ती अधिकारीले जानकारी दिए ।

अहिले संगठितरुपमा विप्लव समूहले चन्दा संकलन कार्यलाई समेत तीव्रता दिएकाले उक्त गतिविधि रोक्न मन्त्री थापाले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

सरकारको निर्देशनपछि सुरक्षा निकायले ७७ जिल्लामा रहेका आफ्ना युनिटमार्फत विप्लव र राजावादीहरुको गतिविधिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ । अहिले जिल्लाका विभिन्न ठाउँंमा रहेका सुरक्षा निकायका युनिटहरुले सूचना संकलन गर्ने कामलाई तीव्रता दिएका छन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७०८:०६

नेकपा पहिला कसले फोड्ने भन्नेमा अन्यौल