युभेन्टसका कोच एन्ड्रिय पिर्लोले क्रिस्टियानो रोनाल्डो पनि क्लबका अन्य खेलाडी जस्तै रहेको र उनी सुपर स्टार भएपनि कुनै विशेष व्यवहार नपाउने बताएका छन्।
मंगलबारको फेरेन्क्वारोस विरुद्धको च्याम्पियन्स लिग खेल अगाडि पिर्लोले रोनाल्डोको बारेमा छलफल गर्दै पाँच पटकका ब्यालोन डी ओर विजेतालाई कुनै विशेष व्यवहार नगरिने बताए। “म उनीसँग त्यस्तै व्यवहार गर्छु जस्तो मैले [ग्यानलुका] फ्रेबोटा वा [मानोलो] पोर्तानोभासँग गर्छु, जो दुई युवा खेलाडी हुन्”, पिर्लोले भने।
“मैले अहिलेसम्म [रोनाल्डो] लाई सेट-पीसमा चुनौती दिएको छैन। म उसलाई अरू सबै खेलाडीहरूको जस्तै व्यवहार गर्छु। म सँधै पिचमा होस् वा पिच बाहिर सबैलाई एकै व्यवहार गर्छु,” उनले एक पत्रकार सम्मेलनमा भने।
च्याम्पियन्स लिगमा फेरेन्क्वारोससँगको खेल अघि युभेन्टस ग्रुप जीमा शिर्ष स्थानको बार्सिलोना भन्दा तीन अंकमा कमका साथ दोस्रो स्थानमा छ।
रोनाल्डोले युभेन्टसको लागि यो सिजन उत्कृष्ट सुरुआत गरेका छन्। उनले पहिलो छ खेलमा आठ गोल गरिसकेका छन्।