काठमाडौँ – मंसिर लागेसँगै घट्न थालेको सुनको मूल्यमा मंगलबार भारी गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य एकैदिन १ हजार ८ सयले घटेको हो।
तोलामा १ हजार ८ सयले घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मंगलबारको गिरावटसँगै सुनको मूल्य ४ महिना यताकै सस्तो विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार कायम भएको सुनको मूल्य १ सय २७ दिन यताकै कम हो। मंगलबार कायम भएको सुनको मूल्य साउन ५ गते यताकै कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्य गत साउन २३ गते रेकर्ड बनाउँदै १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य घटेपनि मंगलबार कायम भएको मूल्य सम्म आइपुगेको थिएन।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलाका ३० रुपैंयाले घटेर ११ सय ८० कायम भएको छ।