काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि जसरी पनि फिर्ता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा पुगेका बेला ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि सरकारले फिर्ता ल्याएरै छाड्ने बताएका हुन्।
सरकारले ती जमिन फिर्ता ल्याउला भनेर धेरै व्यक्तिहरु डराएको र त्यहिकारणले गर्दा सरकारका विरुद्धमा अनेक प्रचारवाजी भइरहेको उनले बताए। भारतले अतिक्रमण गरेको जमिन फिर्ता भए सरकार लोकप्रिय हुन्छ भन्ने पिर परेकै कारण सरकार विरुद्ध षड्यन्त्र भइरहेको उनको भनाइ छ।
“अहिले केही मान्छेहरुलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरु केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ ।”,उनले भने,”आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेहरुले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् । तिनले सुनियोजित रुपमा त्यस प्रकारका कामहरु गरिराखेका छन् । तर, म तपाईंहरुलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।