‘कोरोना खोप विश्‍व बजारमा आउनेबित्तिकै ल्याउँछौँ’

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण विरुद्धको खोप विश्व बजारमा आएलगतै नेपाली नागरिकका लागि उपलब्ध हुने बताएका छन्।

विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा स्वास्थ्यमन्त्री ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकका लागि पनि उपलब्ध गराइने बताएका हुन्।

अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै नेपालमा पनि भ्याक्सिन उपलब्ध हुने उनको भनाई छ। कोरोना भाइरस विरुद्धको खोप नेपाल ल्याउनैको लागि सरकारले कानून संशोधन गरेर आफूहरु अगाडी बढेको जानकारी गराए।

“औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ। भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो।”,उनले भने,”भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्नेबित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ।”

मन्त्री ढकालले सरकार कोरोना नियन्त्रण र जनताको ज्यान बचाउने कार्यमा गम्भीर भएर लागेको पनि दावी गरे।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१७:०६

भक्तपुर–पाँचखाल सुरुङमार्ग बनाइने !