काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।
आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटर, लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ । आइसिसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो । आइसिसीले अवार्ड मिति भने तोकेको छैन ।
पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा छन् । पारस नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन् । त्यस्तै पारसको कप्तानीमा नेपालले पहिलो पटक टि२० विश्वकप २०१४ मा खेलेको थियो ।
आइसिसीले पुरुष प्लेयर अफद दशकमा भारतीय स्पिनर रविचन्द्रन आश्विन, कप्तान विराट कोहली, इंग्ल्यान्डका जो रुट, दक्षिण अफ्रिका एबी डिभिलियर्स, श्रीलंका कुमार संगाकारा, अष्ट्रेलिया स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियम्सनको नाम मनोनित सूचिमा परेका छन् ।