एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार चौथो चरणको खेल अन्तर्गत समूह ए देखि डी सम्मका खेल हुँदैछन् । केहि टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा केहि टोली उक्त सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् ।
गत सिजन च्याम्पियन्स लिग उपाधि जितेको बायर्न सोहि लयलाई कायम राख्दै एक पछि अर्को कीर्तिमान तोडिरहेको छ । गत सिजन सबै खेल जित्ने क्रममा २४ गोल गरेर मात्र ५ गोल खाएको बायर्न यो सिजन पनि सोहि स्तरमा खेलिरहेको छ । पछिल्लो खेलमा साल्जबर्गलाई ६-२ ले हराएको बायर्नले ३ खेलमा १२ गोल गरिसकेको छ ।
आज घरेलु मैदानमा साल्जबर्गविरुद्ध नै बायर्न अर्को कीर्तिमान रच्ने सुरमा हुनेछ । प्रतियोगितामा लगातार जितको कीर्तिमानलाई १५ औं खेलसम्म लम्ब्याउने लक्ष्यमा बायर्न हुनेछ । आजको खेलमा जित हासिल गरे बायर्न अन्तिम १६ मा पनि प्रवेश गर्नेछ ।
यसै समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोसँग खेल्दैछ । पछिल्लो खेलमा एटलेटिकोलाई १-१ को बराबरीमा रोकेपनि स्पेनिस टोली ला लिगामा बार्सिलोनालाई हराएपछि उच्च मनोबलमा छ । आजको खेलमा जित हासिल गरे एटलेटिको नकआउट चरणको नजिक पुग्नेछ ।
युरोपेली फुटबलका महारथी रियल म्याड्रिड र इन्टर मिलान सम्मिलित समूह बी मा भने निकै कडा प्रतिस्पर्धा भइरहेको छ । सबै टोलीको शीर्षस्थानमा रहने सम्भावना जीवित रहेको यस समूहमा आज अर्को चरणमा पुग्ने टोलीको छिनोफानो लाग्ने छैन । यद्यपि अर्को चरणमा पुग्ने सम्भावना बलियो पार्न जितको आवश्यकता भने सबैलाई छ ।
पुछारको इन्टर मिलानले रियल म्याड्रिडको सामना गर्दा शीर्षस्थानको बोरुसिया मोन्चेनग्लाडबाकले शाख्तर डोनेस्कसँग खेल्दैछ । ग्लाडबाक ३ खेलमा ५ अंकसहित शीर्षस्थानमा छ भने रियल म्याड्रिड र शाख्तरको समान ४-४ अंक छ । जितविहिन इन्टर मिलानको २ अंक मात्र छ । आज इन्टरले जितेर शाख्तरले अंक जोडेको खण्डमा रियल पुछारमा फर्कनेछ ।
समूह सी मा म्यानचेस्टर सिटीले ओलाम्पियाकोसलाई पराजित गरे अर्को चरणमा पुग्नेछ । सिटीले ३ खेलमा ९ अंक जोड्दै शत प्रतिशत जितको सिलसिला कायम राखेको छ । एफसी पोर्टो पनि मार्सेविरुद्ध जित हासिल गर्दै ९ अंक बनाउन चाहन्छ ।
सिटीले ३ खेलमा ९ अंक जोड्दा पोर्टो ६ अंकसहित दोस्रो स्थानमा छ । ओलाम्पियाकोसले ३ अंक जोड्दा मार्से अंकविहिन छ । आजको खेलमा जित हासिल गर्न नसके मार्सेको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ ।
समूह डी मा लिभरपुलले एटलान्टाको सामना गर्दा पछिल्लो खेलको नतिजा दोहोर्याउने प्रयास गर्नेछ । घरेलु मैदानमा ५-० को हार बेहोरेपछि इटालियन टोली कम्तिमा अंक खोस्ने लक्ष्यसहित एनफिल्डमा उत्रनेछ । लिभरपुलले यस खेलमा जित हासिल गरे अर्को चरणमा स्थान पक्का गर्नेछ । आयक्स पनि छनोटको सम्भावना बलियो पार्न एफसी मिट्जील्यान्डलाई हराउने सुरमा हुनेछ ।
लिभरपुल ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । आयाक्स र एटलान्टा दुवैको ४-४ अंक रहेको छ । सबै खेलमा हार बेहोरेको मिट्जील्यान्ड खाता खोल्ने प्रयासमा हुनेछ ।
खेल, समय र प्रसारण हुने च्यानल :
समूह ए : एटलेटिको म्याड्रिड विरुद्ध लोकोमोटिभ मस्को – रातको १:४५ बजे – सोनी सिक्स
समूह ए : बायर्न म्युनिख विरुद्ध साल्जबर्ग – रातको १:४५ बजे – सोनी टेन ३
समूह बी : बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध शाख्तर डोनेस्क – रातको ११:४० बजे – सोनी सिक्स
समूह बी : इन्टर मिलान विरुद्ध रियल म्याड्रिड – रातको १:४५ बजे – सोनी टेन २
समूह सी : ओलाम्पियाकोस विरुद्ध म्यानचेस्टर सिटी – रातको ११:४० बजे – सोनी टेन २
समूह सी : मार्से विरुद्ध पोर्टो – रातको १:४५ बजे
समूह डी : लिभरपुल विरुद्ध एटलान्टा – रातको १:४५ बजे – सोनी टेन १
समूह डी : आयाक्स विरुद्ध मिट्जील्यान्ड – रातको १:४५ बजे