एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन प्रति विश्व फुटबलका महान हस्ती पेलेले दुख व्यक्त गरेका छन्। हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएका डिएगो म्याराडोना प्रति पेलेले सामाजिक संजाल मार्फत भावुक श्रद्धान्जलि व्यक्त गरेका हुन्।
ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले सामाजिक संजाल मार्फत आफूले एक राम्रो साथी र संसारले एक महान् खेलाडी गुमाएको भन्दै दुख व्यक्त गरेका छन्। पेलेले एक दिन आकाशमा म्याराडोना सँगै फुटबल खेल्न पाउने आशा पनि व्यक्त गरेका छन्।
“दुखद समाचार ! मैले एक राम्रो साथी गुमाएँ भने संसारले एक महान् खेलाडी गुमायो।”,सामाजिक संजालमा पेलेले लेखेका छन्,”मलाई धेरै भन्न मन लागेको छ । तर अहिले यति भन्छु कि उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । आशा छ एक दिन आकाशमा कतै हामी सँगै फुटबल खेल्न पाउनेछौं ।”
डिएगो म्याराडोनाको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएको अर्जेन्टिनी संचारमाध्यमहरुले जनाएका छन् । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।
म्यारोडोनाले अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका थिए। त्यसक्रममा उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।
https://www.instagram.com/p/CIBZkvFlwhU/
View this post on Instagram