“अब कसैले अनाथ भएँ भन्नुपर्दैन, सबैको सहारा राज्य छ र सरकार छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीको रेखदेख सरकारले गर्ने बताएका छन्। सामाजिक सुरक्षा दिवसका दिन बिहिबार एक संदेश जारी गर्दै प्रधानमन्त्रीले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका हुन्।

भिडियो मार्फत ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गरेका छन्। अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा हुने उनको भनाई छ।

“अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।”,संदेश जारी गर्दै ओलीले भनेका छन्।

सन्देशमा ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको बताएका छन्। समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै सामाजिक सुरक्षा अवधारणा सुरू गरिएको उनको भनाई छ।

सन्देशमा उनले हरेक नागरिक सचेत हुनुपर्ने र सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेरै सरकारले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे सुरुवात गरेको दावी गरेका छन्।

सन्देशकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।
विंसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थाल्यो । त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढायो ।
आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं । हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । एउटा नयाँ जमानाको सुरुवात, जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस् । कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं । हामीले यस सम्बन्धमा थुप्रै प्र्रयासहरु अगाडि बढाएका छौं, जो यहाँहरुमा जगजाहेर नै छ । र, सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको कुरा म यहाँहरुलाई अवगत गराउँन चाहन्छु ।
अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।
यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । यस अवसरमा म सबै दाजुभाइ दिदीबहिनीहरुमा सामाजिक सुरक्षा दिवसको सन्दर्भमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !
११ मंसिर २०७७
प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७०९:५७

‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’