‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै भनेका थिए, ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ।’ उनको सो उद्घोष गरेको तीन वर्ष नपुग्दै भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले नेपाल एसियाकै भ्रष्ट मुलुक र प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भनी रिपोर्ट सार्वजनिक गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७६ असोज १७ गते भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै राष्ट्रसेवकलाई प्रत्येक दिनको कार्य प्रारम्भ हुनुअघि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न उर्दी जारी गरेको थियो। सुशासन र सदाचारको प्रवद्र्धन गर्न भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न निर्देशन दिने निकाय नै भ्रष्टाचारको अग्रस्थानमा रहेको टिआईले औंल्याएको छ। टिआईद्वारा जारी ग्लोबल करप्सन ब्यारोमिटर एसियाको रिपोर्टमा नेपालका ५० प्रतिशत नागरिकले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको दाबी गरेको उल्लेख छ।

प्रधानमन्त्री ओलीको निर्देशनमा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय÷आयोग÷सचिवालयलाई परिपत्र जारी गर्दै भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएको थियो। सरकारले सोही परिपत्रमार्फत सुशासन र सदाचार प्रवद्र्धन गर्न कामप्रति इमानदार भई प्रत्येक राष्ट्रसेवक कर्मचारीले प्रत्येक दिनको कार्य प्रारम्भ गर्नुअघि ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार गर्न दिन्नँ, म देश र जनताको लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ भनेर अनिवार्य रूपमा शपथ खानुपर्ने व्यवस्था गरेको थियो। तर घुस खाने गरेका सरकारी अधिकारीहरूले केही समयपछि नै त्यसलाई लत्याइदिए। ४३ प्रतिशत नागरिकले त्यस्तो शपथ खाने राष्ट्रसेवक कर्मचारी नै भ्रष्टाचारी भएको दाबी गरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भइसकेको दाबीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको सो रिपोर्टले गलत साबित गरिदिएको छ। रिपोर्टमा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको उल्लेख छ। यसले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक रहेको सरकारी अधिकारी नै बताउँछन्।

सुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर मुलुक र नागरिकप्रति इमानदार भइ सत्य निष्ठापूर्वक ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने शपथ खानुपर्नेमा राजनीतिक नेतृत्व र राष्ट्रसेवक कर्मचारीले त्यसलाई भित्तामा सीमित गरिदिएको विषयलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले थप पुष्टिसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै एक उच्च अधिकारी बताउँछन्। ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्नेलाई छाड्दिनँ भन्दै आउनुभएको छ,’ ती अधिकारीले भने। यसलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले थप पुष्टि गरेको ती अधिकारीको भनाइ छ।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७०८:४९

दाहाललाई ओलीको जवाफ : ‘भ्रष्टचारी पुष्टि गरेर जेल हाल्नुहोस्’