काठमाडौँ – ऊर्जा मन्त्री वर्षमान पुनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण भएपछि धेरै कुरा सहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका पुनले बिहिबार एक मिडियासँग कुराकानी गर्दै प्रचण्डले साढे दुई वर्षसम्म धेरै कुरा सहेको र अब सहेर बस्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्।
प्रचण्डनिकट रहेका पुनले जनताको साझा अभिमत दुई पार्टीले पाएको भए पनि त्यसलाई सम्मान नगरिएको उनले बताए। तत्कालिन माओवादीले चुनावमा ३२ लाख र १६ लाख मत ल्याएको भएपनि एकीकरण पश्चात धेरै कुरा सहनुपरेको उनको भनाई छ।
“साढे दुई वर्षसम्म कमरेड प्रचण्डले सबै कुरा सहनुभयो। थुप्रै कुरा भए। चुनावमा ३२ लाख र १६ लाख मत ल्याएको पार्टी हो। प्रत्यक्ष निर्वाचनमा एकले अर्कालाई सहयोग गरेको हो। जनताको साझा अभिमत दुई पार्टीले पाएको भए पनि त्यसलाई सम्मान गरिएन”,उनले भने।
साढे दुई वर्षसम्म सहेपछि प्रचण्डले साह्रै भयो भनेर आफ्ना आक्रोश र भावना राजनीतिक प्रस्तावमार्फत् पेस गरेको उनले स्पष्ट पारे। प्रचण्डले धेरै कुरा सहिसकेको हुँदा अब पनि सहे समग्र पार्टीलाई अप्ठ्यारो पर्ने उनको भनाई छ।
उनले भने,”सम्मान नहुँदा पनि प्रचण्डले सहनुभएको हो तर अहिले अति नै भयो। साह्रै भयो भनेर आफ्ना आक्रोश र भावना राजनीतिक प्रस्तावमार्फत् पेस गर्नुभएको छ। धेरै कुरा सहनुभयो तर अब सहँदा आन्दोलनलाई अप्ठ्यारो पर्छ, समग्र पार्टीलाई अप्ठ्यारो पर्छ।”