काठमाडौँ – नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पश्चात सँगै रहने अवस्थाको अन्त्य भएको सङ्केत गरेका छन्।
एक मिडियालाई दिएको अन्तर्वार्ताका क्रममा रिमालले प्रचण्डको प्रस्तावमा प्रयोग भएको भाषाले सँगै रहने अवस्थाको अन्त्य भएको सङ्केत गरेका हुन्।सचिवालयमा पेस भएको प्रस्तावको भाषा हेर्दा अर्न्तविरोधलाई मित्रवत तरिकाले हल गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ।
अन्तर्वार्तामा उनले भनेका छन्,”अहिले सचिवालयमा पेस भएको प्रस्तावको भाषा हेर्दा अर्न्तविरोधलाई मित्रवत्ढंगले हल गर्ने खालको छैन । कम्युनिष्ट पार्टीमा हामी अर्न्तविरोधलाई शत्रुतापूर्णढंगले हल गर्ने कि मित्रवत् ढंगले गर्ने भन्छौं । त्यसमा भएको भाषाले त सँगै बस्न सकिदैन । त्यस्तो गर्नुपर्ने अवस्था किन पर्यो ? त्यसमा अरु नेता हुनुहुन्छ कि हुनुहुन्न ? यद्यपि केही नेताले म पनि छु भनेको पढेको छु । एउटै पार्टी कमिटीमा एउटा अध्यक्षलाई अर्को अध्यक्षले लगाउने आक्षेप र आरोपत्र त्यस्तो हुन्छ कि हुँदैन भन्ने जिज्ञासाको विषय छ ।”
प्रधानमन्त्री ओली माथि लगाएका आरोपको प्रचण्डले पुष्टि गर्नुपर्ने र आरोपहरु निःशर्त प्रचण्डले फिर्ता लिनुपर्ने उनले बताए। बहुमत–अल्पमतको बाटोमा जाने हो भने एकताको आधार भत्काउनु पर्ने उनको भनाई छ। पार्टी सहमतिमा निर्माण भएको उल्लेख गर्दै उनले १३ लाख र ३२ लाखको भोटको आधारमा जानुपर्ने उनले तर्क गरे।
“बहुमत–अल्पमतको बाटोमा जाने हो भने एकताको आधार भत्काउनु पर्छ । सुरुमा ०७५ जेठ ३ गतेमा फर्किनु पर्छ । जेठ ३ गते एकताको आधार सहमति भनेका छौं । सहमतिमा जादैनौं भनेर पहिला खण्डन गर्नुपर्यो । त्यसपछि कमिटीलाई पनि पुर्नव्यवस्था गर्नुपर्यो । त्यसपछि धारको आधारमा गएन नि ! शक्तिका आधारमा गर्नुपर्यो । १३ लाख र ३२ लाखको भोटको आधारमा जानुपर्यो । त्यसपछि बनेका कमिटी बहुमत र अल्पमतमा जानुपर्यो । त्यतिखेर प्रचण्ड पनि रहनु होला, केपी ओली पनि रहनु होला । माधव नेपाल पनि रहनु होला, झलनाथ खनाल पनि रहनु होला ती कमिटीहरुमा । त्यहाँ अरु बाहिरका मान्छे आउने हैनन् होला ।,”अन्तर्वार्तामा उनले भनेका छन्,”प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिनुपर्छ र पार्टीलाई एक बनाएर लैजाले साझा प्रस्ताव बनाएर जानुपर्छ । अहिले बहुमत र अल्पमतको गीत गाउने साथीहरुले ‘प्रभोक’ गर्न हुँदैन ।”,