काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा राजसंस्था र हिन्दु राज्यको पक्षमा ठूलो संख्यामा प्रदर्शन हुन थालिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री तथा सांसद समेत रहेका भट्टराईले ट्वीटर मार्फत यस्तो बताएका हुन्।
गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान युवाहरुलाई भट्टराईको आग्रह छ। भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकि गिलास भर्न पर्ने बताएका छन्।
“युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकि गिलाँस भरौं”,भट्टराईले ट्वीटरमा लेखेका छन्। रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्न नहुने पनि उनले बताएका छन्।
https://twitter.com/brb1954/status/1332492651522789376
“रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्! अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाँसो नबिर्सौं! दुबैसँग लडेर अघिजाने साहस गरौं!”,ट्वीटरमा भट्टराईले लेखेका छन्।
भट्टराईले यस अगाडी पूर्वराजा र राजावादीहरु कुनै पनि हालतमा राष्ट्रवादी हुन नसक्ने बताएका थिए। भट्टराईले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको दावी गरेका थिए भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको बताएका थिए। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ भन्ने तर्फ सोच्नुपर्ने उनको भनाई थियो।