प्रचण्डलाई च्यालेन्ज – ‘महाधिवेशनमा भिड्ने भए तयार छु, हिम्मत छ?’

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिन चुनौती दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दै प्रचण्डलाई महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रेर विजयी हुन चुनौती दिएका हुन्।

ओलीले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत प्रचण्डले गर्न थालेको आरोप लगाएका छन् ।

“आज तपाईँले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ, आफ्ना सहयोद्धा कमरेडहरूको भावना होइन, टाउका गन्न थाल्नुभएको छ। कित्ताकाट गर्न थाल्नुभएको छ। सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साविक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईँका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?”,ओलीले प्रतिवेदनमा भनेका छन्।

प्रचण्डले पार्टी भित्र बहुमत सदस्यको मागको सम्बोधन गर्न माग गर्दै आएको विषय प्रति लक्षित गर्दै ओलीले आफू महाधिवेशनको लागि तयार रहेको स्पष्टसंग प्रतिवेदनमा उल्लेख गरेका छन्।

“ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौँ, अनि विधान संशोधन गरौँ। मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो? म त तयारै छु।”,प्रतिवेदनमा भनिएको छ।

प्रकाशित : शनिबार, मङि्सर १३, २०७७१७:५४

“पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्न म तयार छु, तपाई तयार हुनुहुन्छ?”