काठमाडौँ – स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले ओरालो लागेको छ ।
मङ्सिर लागेसँगै घट्न थालेको सुनको मूल्य सोमबार सम्म आइपुग्दा तोलामा पाँच हजार १ सय रुपैंयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य ९० हजार रुपैंया कायम भएको छ। यस अगाडी आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैंयामा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ५ सय ५० रुपैंयामा कारोवार भएको छ । तेजाबी सुन आइतबार प्रतितोला ९० हजार २ सय रुपैंयामा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो ।
सुन असार ५ गते यताकै सस्तो
सोमबार कायम भएको सुनको मूल्य असार ५ गते यताकै कम रहेको छ। असार ५ गते सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको थियो। त्यस दिन यता सुनको मूल्य सोमबारको विन्दुमा कुनै पनि दिन पुगेको थिएन। यस हिसाबले सुनको मूल्य आज १ सय ६४ दिन यताकै कम हो।
यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।