काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिएका छन्। सोमबार राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न चुनाती दिएका हुन्।
नेता प्रधानले धमिलो पानीमा माछा मार्ने खेल त्यागेर मैदानमा उत्रिन पूर्वराजालाई चुनौती दिए। पार्टी खोलेर चुनावमा उत्रनुनै प्रजातन्त्र हुने भन्दै उनले नीति तथा कार्यक्रम, भिजनसहित आउन पूर्वराजालाई आग्रह गरे। साथै उनले नेपालमा राजतन्त्र नफर्किने दावी समेत गरे।
“यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।”,उनले भने।
नेता प्रधानले वर्तमान सरकारसंग जनता सन्तुष्ट हुन नसकिरहेको बताए। वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्ष पछि हुने उनको भनाई छ।
“पार्टी अध्यक्षलाई निर्वाध रुपमा चलाउन दिनुपर्छ । अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्ष पछि हुने हो । हुन त यो सरकारले केही पनि गरेको छैन् । देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि ।”,उनले भने,”तर, खोई कहाँ उनीहरुको हित भएको छ ? दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरु कसरी बाँच्छ ? सरकराले हेर्नुपर्दैन् ? यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन् ।”