“संघीयताले देश डुबाउने स्पष्ट भयो, सक्दो छिटो खारेज गरौं”

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले नेपालमा संघीय व्यवस्था खारेज गर्न माग गरेको छ। संघीय व्यवस्था लागू भएपछि देशको राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै जनमोर्चाले जनमोर्चाले संघीय व्यवस्था खारेज गर्न माग गरेको हो।

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले संघीय शासन प्रणाली नेपालको लागि सही व्यवस्था नभएको दावी गरेको छ। पहिला संघीयताबारे भ्रम रहेपनि संघीय शासन प्रणाली बेठिक रहेको व्यवहारिक रुपमै पुष्टि भएको जनमोर्चाको तर्क छ।

“संघीय शासन प्रणाली नेपालको लागि सही व्यवस्था होइन । शुरुका दिनमा संघीयताबारे भ्रमहरु थिए । आज व्यवहारमै संघीय शासन प्रणाली बेठिक मात्र होइन, यसका कैयन दुष्परिणामहरु देखिएका छन्।”,जनमोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

संघीयताको खर्च चलाउनको लागि देश विकासको खर्च कटौती गरिएको र त्यसले देशका विकास निर्माण कुण्ठित हुन पुगेको जनमोर्चाको निष्कर्ष रहेको छ।

“संघीयताको खर्च चलाउन विकाश निर्माणको खर्च कटौती भएको छ र देशका विकास निर्माण कुण्ठित हुन पुगेका छन् । हामीले अहिले नै संघीय प्रणाली खारेज गरेर यसमा हुने गरेको खर्च कोरोना भाइरसको रोकथाम र उपचारमा खर्च गर्न माग गरेका थियौँ । यो डेढ दशकको समयमा संघीय प्रणालीको कुनै आवश्यकता र औचित्य देखिएन ।”,जारी विज्ञप्तिमा भनिएको छ।

जनस्तरबाटै संघीयताको विरोधमा आवाजहरु उठेको भन्दै जनमोर्चाले जतिसक्यो चाँडो संघीयता खारेज गर्दा देशको कल्याण हुने दावी गरेको छ।

जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,”काम गर्ने दौरानमा व्यक्ति वा राजनीतिक दलबाट पनि गल्ती कमजोरी हुन्छन् । त्यस्ता गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन कि तिनलाई सुधार गर्नु नै महानता हुन्छ। हामीले जतिसक्यो चाँडो संघीयता खारेज गर्दछौं, त्यति देश र जनताको कल्याण हुने छ ।”

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१६:५४

“राजनीतिक दलहरू आफैं सक्षम छन्, राजसंस्थाको खाँचो छैन”