काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीया कार्यक्रममा बोल्दै थापाले सरकारको अकर्मण्यताका कारण देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढेर गएको बताएका हुन्।
सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको उनले बताए। वर्तमान सरकार र वर्तमान राज्यव्यवस्थाका कारण हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको उनको भनाई छ।
जनताले परिवर्तन चाहिरहेको अवस्थालाई सहिरुपमा सदुपयोग गर्नुपर्ने तर्फ पनि उनले जोड दिए। जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्नेमा उनको जोड छ।
“जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्नुस्।”,उनले भने।
यस्तै अध्यक्ष थापाले कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको पनि बताएका छन्। राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने गरि अघि बढ्नु पर्ने उनेल बताए।
“कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ। वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ।अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ”,उनले भने।