काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।
पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको केहि घण्टा बित्न नपाउँदै भट्टराईले एक ट्वीट गर्दा आपत्ति जनाएका हुन्। राजावादीहरूलाई देशव्यापी वितण्डा मचाउँदा चुप बसेको सरकारले गणतन्त्रवादीलाई गिरफ्तार गरेको भन्दै भट्टराईले प्रश्न गरेका छन्।
“राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार? केपी ओली सरकारको के हो चाला?”,भट्टराईले ट्वीटर मार्फत आक्रोश पोखेका छन्।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा विवाद भएपछि प्रदर्शन हुँदा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो। जसपश्चात नेता पौडेलले आफू पक्राउ परेको बारे सामाजिक स्नाजल मार्फत जानकरी गराएका थिए।
साथै भट्टराईले रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूले किन रोकेको भन्दै प्रश्न पनि गरेका छन्।
“राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार? ओली सरकारको के हो चाला? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है।”,भट्टराईको ट्वीट छ।