काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई राष्ट्रवादी बताउने ओली उदाँगिएको बताएका छन्। बिहिबार तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्नेक्रममा नेता पौडेलले पछिल्लो समय राष्ट्रवाद उदाँगिएको र त्यो जनताले राम्रोसँग बुझेको बताएका हुन्।
ओली वास्तावमा राष्ट्रवादी नभएको दावी गर्दै पौडेलले राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्र र परिस्थितिका कारण ओली राष्ट्रवादी चित्रण हुन पुगेको बताए। पछिल्लो समय ओलीले विदेशी गुप्तचरहरुसँग गरिरहेको भेटले ओली राष्ट्रवादी होइनन् भन्ने स्पष्ट पारेको उनको दावी छ।
बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटन कार्यक्रममा दल-बल सहित पुगेका नेता पौडेल ओली विरुद्ध आक्रोशित देखिए। लोकतन्त्र स्थापनामा ओलीको कुनै भूमिका नरहेको पनि उनले तर्क गरे।
“०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै हुन्।”,ओली माथि पौडेलको आक्रोश थियो।
नेता पौडेलले केपी ओली लोकतन्त्र तथा राजनीतिक परिवर्तनको लागि नभई ज्यान मुद्दामा जेल बसेको जिकिर गरे। ज्यान मुद्दामा जेल बसेका व्यक्तिले आफूसँग लोकतन्त्रको गफ नगरेकै राम्रो हुने उनको भनाई छ।
“केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो । लोकतन्त्रका लागि होइन ।”,नेता पौडेलले भने।
तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दीखोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो। तर, सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसक्रममा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा समेत लिएको थियो।
नेपाली कांग्रेसले नेता पौडेललाई नछाडे कडा प्रतिवाद गर्ने चेतवानी दिएपछि नेता पौडेल छुटेका थिए। बिहिबार भने पौडेल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सहित पुल उद्घाटन गर्न पुगेका थिए।