“नेपालसँगको सम्बन्ध सुध्रिएको छ”

काठमाडौं । नेपालमा तीन उच्चस्तरिय भ्रमण टोली पठाएपछि भारतले नेपालसँगको सम्बन्ध सुधार भएको टिप्पणी गरेको छ । सीमा विवादपछि पहिलो पटक भारतले औपचारिक रुपमा नेपालसँगको सम्बन्ध नयाँ दिशामा अगाडी बढेको बताएको हो । २०७२ असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेपछि सम्बन्ध चिसिएर सुधार हुँदै गर्दा गत वर्ष भारतले नयाँ नक्सा जारी गरेपछि फेरी बिग्रेको थियो । नेपालले पनि आफ्नो भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि विवाद थप चर्कियो । भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच कूटनीतिक सम्वाद समेत ठम्प भएको थियो । उच्चस्तरीय भ्रमणहरू हुन सकेका थिएनन् । यसैबीच कात्तिकको पहिलो साताबाट भारतले उच्चस्तरीय व्यक्ति नेपाल पठाउन थालेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कात्तिक पहिलो साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विंग (रअ)का प्रमुख नेपाल आएका थिए भने कात्तिक तेस्रो साता भारतीय स्थल सेनाध्यक्ष पनि आए । त्यसलत्तगै भारतीय विदेश सचिवले मंसिर ११ र १२ गने नेपाल भ्रमण गरेका थिए । यी भ्रमणले पुन सम्बन्ध सुधार गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले बताएका छन् । भारतीय पत्रिका ‘द हिन्दु’ लाई दिएको अन्तवार्तामा उनले भने, ‘हो, एउटा समय यस्तो थियो जहाँ हामी (नेपाल र भारत)बीच मुद्दा थिए । तर, पछिल्ला केही साता यता नेपाल र भारतले सम्बन्धलाई अघि बढाउने निर्णय गरेका छन् ।’

उनले सबै देशको छिमेकीसँग समस्या हुने गरेको बताउदै कुनै एक घटनालाई पुरै सम्बन्धको मापकको रुपमा लिन नहुने स्पष्ट पारेका छन् । ‘मलाई त्यस्तो दुई छिमेकी देखाउनोस् जसबीच कुनै समस्या छैन । अधिकांश हाम्रा छिमेकीमा लोकतन्त्र छ । मुद्दा यो हो कि उनीहरूको आफ्नै राजनीति छ, हाम्रो आफ्नै राजनीति छ, त्यहाँ मुद्दा पनि हुन्छन्’, उनको भनाई छ ।

भारतीय उच्चस्तरिय टोलीको भ्रमणपछि अब नेपालले एक उच्चस्तरको टोली भारत पठाउन लागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अर्को साता भारत जान सक्ने बताएको छ । नेपालको राजनीति अन्यथा नभए उनको भ्रमण अर्को साता हुने निश्चित जस्तै रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पनि ज्ञवालीको भ्रमणको तयारी भईरहेको बताएका छन् ।

उनले विदेश सचिवको नेपाल भ्रमणका क्रममा उनलाई निम्तो दिएको बताए । उनले भने, ‘हाम्रो भारतीय सचिवले हालै गरेको नेपाल भ्रमणको समयमा नेपालका परराष्ट्रमन्त्रीलाई संयुक्त आयोगको वैठकमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । अहिले मिति तय गर्ने गृहकार्य भइरहेको छ ।’ ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठक अध्यक्षता गर्न जान लागेका हुन् ।

आयोगको पाँचौँ बैठक ४ भदौ ०७६ मा काठमाडौंमा बसेको थियो । परराष्ट्र मन्त्रीस्तरीय राजनीतिक संयन्त्रको निर्देशनअनुसार भविष्यमा सीमा विवाद सम्बन्धमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम तोकिने कूटनीतिक स्रोतको दाबी छ । दुई देशबीच सबै पक्षमा छलफल हुने यो संयन्त्र ३२ वर्षदेखि कायम छ, तर हालसम्म जम्मा पाँचवटा मात्रै बैठक भएका छन ।

द्विपक्षीय विकास, कनेक्टिभिटी, ऊर्जा, हवाई उडड्यन, जनस्तरीय सम्बन्धलगायत विषयसँगै इपिजी प्रतिवेदन र सीमा विवादले स्थान पाउनेछ । आयोगको बैठकमा आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति तथा शिक्षामा दुईदेशीय सहकार्यबारे छलफल हुने गरेको छ । त्यसबाहेक अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय सहकार्यबारे पनि छलफल हुने गर्छ ।

भारतले नेपाल–चीन सम्बन्धका विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्दै त्यो दुई देशको मामिला भएको बताएको छ । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको भारतीय विदेश मन्त्रालयले जनाएको हो । ‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ । यो द्विपक्षीय विषय हो,’ मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने । चीनका रक्षामन्त्री वेइ आइतबार एक दिने भ्रमणको क्रममा नेपाल आएका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७०७:५६

नेकपा विवाद: ओलीको हठका कारण गल्दै प्रचण्ड !