नेकपा विवाद: ओलीको हठका कारण गल्दै प्रचण्ड !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि अनौपचारिक छलफलले तिव्रता पाएका छन् । नेकपा विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय बनेको देखिएको छ । उनको अग्रसरताकै बीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुनै सहमतिमा हस्ताक्षर हुने सम्भावना प्रवल रहेको स्रोतको दावी छ । विहिवार दाहालले सम्वादबाटै समस्याको समाधान गर्न सकिने अभिव्यक्ति दिएपछि दुई अध्यक्षबीच फेरी पनि सहमति हुन लागेको संकेत नेताहरुले गरेका छन् । दाहालले विहिवार पार्टीका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरेका छन् । परामर्शमा उनले छलफल गरी सहमतिमै जानुपर्ने जिकिर गरेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पौडेले दिउसो १ बजे र नेम्वाङ बेलुकी ५ बजे दाहाल निवास खुमलटार पुगेका थिए । भेटमा महासचिव पौडेलले पार्टीको समस्या समाधानका लागि थप गृहकार्य र सहमति गर्नुपर्ने बताएका थिए । २० गते सचिवालय बैठक बस्नुअघि छलफल र ठोस सहमति जुटाएर मात्रै बैठक बस्नुपर्ने बताएका थिए । नेम्वाङले अध्यक्षसँग छोटो भेटघाट गरेका थिए । भेटमा दाहालले सहमति नै जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका थिए ।

‘अध्यक्षले बोलाउनु भएको थियो । छोटो भेटघाट भयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने पक्षमा छु भन्नुभयो । छलफल गरेर सहमतिमा नै जानुपर्छ । म सहमतिमै जानुपर्ने भन्नेमा पुगेको छु । त्यसका लागि के कसो गर्ने भन्नेमा छलफल नै गर्नुपर्ने छ भन्नुभयो’, भटपछि नेम्वाङले भने । १७ गतेको ओली अनुपस्थित सचिवालय बैठकमा दाहाल भन्दा वरिष्ठ नेता माधवकुमार नेपाल चर्को रुपमा प्रस्तुत भएका थिए । त्यसलगत्तै आयोजित एक कार्यक्रममा उनले महाधिवेशन तत्काल हुन नसक्ने भन्दै ओलीले प्रधानमन्त्री वा अध्यक्ष तत्काल छाड्नुपर्ने बताएका थिए । तर, दाहाल विगतको भन्दा लचिलो भएकाले सहमतिको आश गरिएको स्रोतले बताएको छ ।

नेकपाभित्र विवाद चलिरहँदा राष्ट्रपति भण्डारीले विहिवार दुवै अध्यक्षसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री समेत रहेका ओलीसँग भेट गरेकी राष्ट्रपतिले त्यसपछि दाहालसँग पनि शितल निवासमा भेटवार्ता गरेकी थिइन् । भेटवार्ताका विषयमा तीनै पक्षले कुनै विस्तृत जानकारी नदिएपनि उनले नेकपालाई विवादमा भन्दा मिलाएर लैजान सुझाव दिएको स्रोतहरुको दावी छ । महासचिव पौडेल र उपनेता नेम्वाङलाई भेटेपछि दाहाल साँझ शितल निवास पुगेका हुन् ।

नेकपाको उच्च स्रोतका अनुसार दाहालसँग थप सहमति गरेर ओली अगाडी बढ्ने चाहना देखाएका छन् । उनले थप सहमति गर्ने वा विग्रहमा जाने भन्ने निचोड निकाल्न दाहालसँग अनौपचारिक रुपमा सन्देश पठाएका छन् । त्यसपछि दाहाल पनि सक्रिय भएको बुझिएको छ । गत कात्तिक १८ मा नेकपा विवाद चर्किएको बेला उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७०७:५९

महिनावारी रोकिएपछि चेकजाँच गर्दा खुल्यो छोरीको पिडा, भएकी रहिछन् दुष्टको शिकार !