काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’ अघि सारिएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेका बेला अध्यक्ष दाहालले आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको दाबी छ। ‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए। अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहालनिकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ।’
दाहालनिकट नेताहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले केही दिनयता ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। तर ओली भने दुवै पद छाड्ने पक्षमा छैनन्। उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन्। चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्षको पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्रीको पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीले भनेका हुन्। अर्कोपटक अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा आफू नहुने भएकाले त्यसका लागि निर्वाचन र महाधिवेशन कुर्नुपर्ने ओलीका भनाइ छ। दाहाल–नेपाल समूहले भने ओलीले पटकपटक धोका दिएको, हेपेको र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरेकाले अहिले दुईमध्ये एक पद छाड्न दबाब दिएको बताउँदै आएका छन्।
दाहालनिकट रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि ओलीले दुईमध्ये एक पद छाडे मात्र निकास निस्कने बताएका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधिअनुसार सञ्चालन गर्न सक्नुभएन। उहाँ प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। अध्यक्ष हुने भए प्रधानमन्त्री छाडेर एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता यी दुई विषयमा मात्र हुन्छ,’ स्थायी कमिटी सदस्य पौडेलले भने। उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए। पार्टी विवादलाई स्थायी कमिटीमा ल्याएर निरूपण गर्नुपर्ने धारणा पनि उनको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले यो विषयमा धेरै अघि बहस छलफल गर्दै आए पनि ओझेलमा परेको थियो।