बार्सिलोनाका अध्यक्ष पदका लागि उमेद्वार जोआन लापोर्टाले लियोनल मेस्सीको लागि बार्सिलोनामा पैसा नै ठूलो नभएको र अर्जेन्टिनी सुपरस्टारले सफलताको लागि प्रतिस्पर्धी टिमको चाहना राखेको कुरा बताएका छन्।
मेस्सीको भविष्य स्पेनिस महारथी बार्साको लागि महत्वपूर्ण विषय बनेको छ। गत सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाड्ने कुराले ट्रान्सफर बजारमा तहल्का मच्चियो। बार्सिलोनाका कार्यकारी अध्यक्ष कार्लोस टस्कट्सले कोरोनाभाइरस महामारीको कारण भएको आर्थिक संकटका कारण क्लबले मेस्सीलाई बेच्नु पर्ने कुरा बताएका थिए।
तर अक्टोबरमा जोसेप मारिया बार्टोमाउको राजीनामा पछि जनवरी २४ मा हुने अध्यक्ष पदको उमेद्वार लापोर्टाले यो कुरा अस्विकार गरे। उनले रेडियो मार्का र सिओपिईसँग कुरा गर्दै भने,”मेस्सी बार्सिलोनालाई चाहन्छ। म उसलाई खुसी दिन चाहन्छु। यो केवल पैसाको मात्र कुरा होईन, हामीले एक प्रतिस्पर्धी टिम बनाउनु पर्छ।”
“मेस्सी ठगिएका छन् र त्यो ठूलो घाटा हो। ऊ एक विजेता हो र अन्य टोलीले च्याम्पियन्स लिग उचालेको देख्न सक्दैन”, उनले भने। “लियोले एक यस्तो टोली चाहन्छ जसले बार्सिलोनामा फेरी खुसी फिर्ता ल्याउँछ,” ल्यापोर्टाले थपे।