हिन्दुराष्ट्र र राजसंस्थाको जनसमर्थन देखेर हौसिए कमल थापा, जिम्मेवारी लिने गरे घोषणा !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको समर्थनमा हुने आन्दोलनको नेतृत्व राप्रपाले लिने बताएका छन्।

शुक्रबार मकवानपुरको हेटौंडामा हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै प्रदर्शन भएपछि ट्वीटर मार्फत अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्थाको मागसहित भइरहेको प्रदर्शनको नेतृत्व राप्रपाले गर्ने बताएका हुन्।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्मपरिवर्तनको विरुद्धमा हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व आफूहरुले गर्ने उनको स्पष्ट भनाई छ।

“स्याबास! राप्रपा मकवानपुर ।  हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगारी,धर्मपरिवर्तनको बिरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ। कसैलाई भ्रम र द्विविधा नरहोस् राप्रपा बलियो भयो भने मात्र हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुन्छ”,ट्वीट गर्दै उनले भनेका छन्।

यस अगाडी अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको बताएका थिए। वर्तमान सरकार तथा राज्यव्यवस्थाबाट जनता दिक्क भइसकेको र परिवर्तन चाहिरहेको भन्दै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि राप्रपाले भूमिका खेल्नु पर्ने बताएका थिए। मौकाको सदुपयोग गरी राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउनुपर्ने भन्दै सोहि योजना अनुसार काम गर्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

साथै थापाले नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुने दावी समेत गरे। नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुने मात्र नभई राप्रपा ठूलो शक्तिको रुपमा उदाउने उनको दावी छ।

राजासहितको हिन्दु राष्ट्र माग्दै प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आह्वानमा शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ। राप्रपाको पार्टी कार्यालय सानोपोखराबाट शुरु भएको मोटरसाइकल र्‍यालीले बजार परिक्रमा गरेको थियो भने प्रदर्शनमा सहभागी भएकाहरुले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरेका थिए।

प्रदर्शन पश्चात केन्द्रीय सदस्य नबराज विष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर १९, २०७७१८:२०

बिहीबारभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटे !