काठमाडौँ – रुसले तयार पारेको कोरोना भाइरस विरुद्धको खोप केहि डोज आउने केहि हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ।
एक साता भित्रै आफ्ना देशका नागरिकहरुलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको रुसले नेपालमा पनि केहि नमुना डोज पठाउने भएको हो।
कोरोना भाइरस विरुद्ध रुसले तयार परेको ‘स्पुतनिक भी को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ।
यस सम्बन्धमा नेपाल स्थित रसियन दूतावासका उच्च अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर जानकारी गराइसकेका छन्।
भेटका क्रममा दूतावासका उच्च अधिकारीले मन्त्री ढकाललाई ‘स्पुतनिक भी’को ५ हजार स्याम्पलको भण्डारण व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन्।
स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार पाँच हजार थान स्याम्पल खोप लिएर डिसेम्बर ९ मा उक्त टोलि रुसबाट आउनेछ। उक्त टोलिले खोप बारे प्रष्ट पार्नुका साथै खोप प्रयोगको अवस्था बारे स्पष्ट पार्ने बताइएको छ। रसियन दूतावासका अधिकारीहरुले दिएको जानकारी अनुसारनै स्वास्थ्य मन्त्रालयले भण्डारणको व्यवस्था गरिसकेको छ।
पछिल्लो समय विभिन्न देशहरुले कोरोना भाइरस विरुद्धको खोप आफूहरुले तयार पारेको दावी गरिरहेका छन्। कोरोना खोप निर्माणमा बेलायत, रुस, क्यानडा लगायत देशले निर्माण गरेका खोप बीच प्रतिस्पर्धा हुने देखिएको छ।