काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा उत्रिन चुनौती दिएका छन्।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले शनिबार राजधानीमा आयोजित एक साक्षात्कारका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यस्तो चुनौती दिएका हुन्।
देशभर राजावादीहरुले हिन्दुराष्ट्र तथा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएको विषयमा टिप्पन गर्दै नेता तामाङले कुनै पार्टीमा जोडिएर अथवा आफ्नै पार्टी खोलेर प्रतिस्पर्धामा उत्रिन चुनौती दिए। कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने उनको भनाई छ।
“पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं । कसैले सडकमा आएर राजा आऊ भन्दै राजसंस्था पुनःस्थापना हुँदैन”,उनले भने। साथै उनले वर्तमान संविधानको अर्को विकल्प हुनै नसक्ने दावी पनि गरेका छन्।
यस्तै नेकपा भित्र चलिरहेको विवादको सम्बन्धमा पनि आफ्नो भनाई राखेका छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनिसकेको उनले जानकारी गराए। नेकपा कुनै पनि हालतमा नफुट्ने उनको भनाई छ। एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।
“नेकपा कुनै हालतमा फुट्दैन। दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।”,उनले भने।